यात्रुले जहाजको ढोका खोलेपछि बुद्ध एयरको भैरहवा–काठमाडौं उडानमा ढिलाइ


काठमाडौं – बुद्ध एयरको भैरहवाबाट काठमाडौं उड्न लागेको जहाजको आपत्कालीन ढोका यात्रुले खोल्दा उडानमा ढिलाइ भएको छ। बुद्ध एयरकाअनुसार उडान नम्बर ८५२ (९एन एएमडी)को ढोका यात्रु सुमन गौतमले खोलेका हुन्। 

उक्त कार्यमा संलग्न यात्रुलाई तत्कालै विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ। हवाई सुरक्षा मापदण्ड अनुसार, जहाजको विस्तृत प्राविधिक परीक्षणका लागि काठमाडौंबाट प्राविधिक टोली भैरहवा प्रस्थान गरिसकेको छ। पूर्ण परीक्षण र सुरक्षा सुनिश्चित भएपछि मात्र जहाजले उडान भर्नेछ।

नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार विमानको आपतकालीन ढोका बिना कारण खोल्नु गम्भीर कानुनी अपराध हो। यसबाट यात्रुमा पर्न गएको असुविधाप्रति बुद्ध एयरले क्षमा मागेको छ।