बैंकका कर्मचारीमाथि आक्रमणपछि छाता संगठन र नियामकको आपत्ति

बैंकमाथि आक्रमण–२ 


काठमाडौं – ज्योति विकास बैंकका कर्मचारीमाथि भएको आक्रमणप्रति बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरूले कडा आपत्ति जनाएका छन्। ऋण असुलीका लागि फिल्डमा खटिएका बैंकका कर्मचारी सुनित श्रेष्ठ र सविन कुमार श्रेष्ठमाथि ऋणी पक्षबाट आक्रमण भएपछि वित्तीय क्षेत्रका विभिन्न संगठनले संयुक्त रूपमा गम्भीर ध्यानाकर्षण गराएका हुन्।

बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल,नेपाल वित्तीय संस्था संघ तथा लघुवित्त बैंकर्स संघले ज्योति विकास बैंकका कर्मचारीमाथि भएको दुर्व्यवहार र आक्रमणको निन्दा गरेका छन्। बैंकका कर्मचारीमाथि आक्रमण गर्ने २ जनालाई प्रहरीले पक्राउ समेत गरिसकेको छ। प्रहरीले सञ्जीवकुमार चौधरी र उमाकान्त चौधरीलाई पक्राउ गरिसकेको छ।  

घटना सप्तरी जिल्लाको रुपनी शाखासँग सम्बन्धित हो । बैंकका अनुसार रुपनी शाखाका ऋणी सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रालिका सञ्चालकसँग कर्जाको किस्ता नियमित गर्ने विषयमा छलफल गर्न जाँदा बैंकका दुई जना कर्मचारीमाथि नियोजित रूपमा दुर्व्यवहार तथा आक्रमण गरिएको हो । बैंकको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटाइएका ती कर्मचारीहरू पूर्व सम्झौताअनुसार संवादका लागि फर्म रहेको स्थानमा पुगेका थिए । तर, त्यहाँ फर्मका सञ्चालक, उनका परिवारका सदस्य तथा सहयोगीहरूले कर्मचारीहरूलाई नियन्त्रणमा लिई घन्टौँसम्म राखेर ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको बैंकको भनाइ छ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरू आफ्नो नियमित कार्यका क्रममा फिल्डमा असुरक्षित बन्दै गएको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। यही सन्दर्भमा ज्योति विकास बैंकका कर्मचारीमाथि भएको दुर्व्यवहार र आक्रमणले वित्तीय क्षेत्रमा थप अन्योल र त्रास सिर्जना गरेको छ।

छाता संगठनहरूले यस्ता घटनाले बैंकिङ्ग प्रणालीमै नकारात्मक सन्देश जाने भन्दै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न र कर्मचारीको सुरक्षा सुनिश्चित गर्न राज्य तथा नियामक निकायसँग माग गरेका छन् ।

यता, लाखौँ ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको बैंकिङ्ग सेवा प्रवाह गरिरहेका बैंक तथा वित्तीय संस्थाहरूको साख, गरिमा, विश्वसनीयता वा सम्पत्तिमा हानि नोक्सानी पुर्‍याउने, बैकिङ्ग व्यवसायमा अवरोध सिर्जना गर्ने, अफवाह फैलाउने, आम जनतामा भ्रम सृजना गर्ने, कर्जाको साँवा ब्याज नतिर्न दुरुत्साहन गर्ने र कर्मचारीहरूलाई भौतिक आक्रमण गर्ने जस्ता क्रियाकलापहरूले प्रश्रय पाइरहेको सीबीफीनको भनाइ छ । 

यता, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूको छाता संगठन नेपाल बैंकर्स संघसहित अन्य बैंक तथा वित्तीय संस्थाका छाता संगठनले पनि संयुक्त रूपमा विज्ञप्ति नै जारी गरेका छन् । उनीहरूले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले बचतको सुरक्षा सुनिश्चित गर्ने तथा नियमित असुली प्रक्रिया अपनाउने क्रममा अमानवीय व्यवहार भोग्नुपरेको अवस्था सम्पूर्ण बैंक तथा वित्तीय संस्था साथै ग्राहक वर्गका लागि गम्भीर चिन्ताको विषय भएको उल्लेख गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाका छाता संगठनले कर्जा असुली गर्नु बैंकको जिम्मेवारी हो र बैंक तथा वित्तीय संस्थाको सबैभन्दा महत्त्वपूर्ण उद्देश्य भनेको निक्षेपकर्ताको बचत सुरक्षित गर्नु भएको भन्दै संगठनहरूले सम्पूर्ण बचतकर्ताको जिम्मेवारी लिएको यस प्रकारको घटनाले बैंकिङ्ग सेवा प्रयोग गर्न निरुत्साहित गर्नुका साथै बैंक तथा वित्तीय संस्थाहरूलाई नियामक निकाय तथा ऐन/कानूनले प्रदान गरेका अधिकार प्रयोग गर्नसमेत चुनौती सिर्जना भएको बताए। 

विकास बैंकका कर्मचारीमाथि आक्रमण भएपछि बैंक तथा वित्तीय संस्थाको अभिभावकको रूपमा रहेको नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र राष्ट्र बैंकको निर्देशनको अधीनमा रही कर्जा प्रवाह गर्न, प्रवाह गरेको कर्जा सम्बन्धी परियोजनाहरूको अनुगमन गर्नु र कर्जा असुल उपर गर्नु सम्बन्धित बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्य रहेको उल्लेख छ। राष्ट्र बैंकले कुनै गुनासो भएमा सम्बन्धित संस्था र राष्ट्र बैंकमा गुनासो सुनुवाइको व्यवस्था रहेकोले गुनासो गर्न र समाधान गर्न सकिने व्यवस्था समेत छ।