भट्टचन छुटेपनि बढ्दैछ सीआईबीको अनुसन्धान दायरा, प्रभु बैंकदेखि म्यानेजमेन्टसम्म तानिँदै


काठमाडौं – स्वास्थ्यमा समस्या आएको तथा सरकारी वकिल कार्यालयले छाड्न भनेपछि देवी प्रकाश भट्टचन छुटेपनि प्रभु म्यानेजमेन्ट र बैंकका अन्य व्यक्ती समेत अनुसन्धानमा तानिन थालेका छन्। प्रभु म्यानेजमेन्टमार्फत सहकारीको रकम अपचलन भएको विषयम छानबिन गर्न भट्टचन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को फन्दामा पुगेका थिए।

तर, भट्टचन छुटेपनि उनी हिरासतमा नै हुँदा प्रभु बैंकमा छापा मारेर साथमा लिएको कागजातका आधारमा प्रभु बैंकका अन्य व्यक्तिहरू समेत छानबिनमा तानिन थालेका हुन्। यतिबेला प्रहरीको फन्दामा प्रभु म्यानेजमेन्टका कुमार महाजु पक्राउ परेका छन्। उनी प्रभु म्यानेजमेन्टको पूर्व शेयरधनी हुन्।

प्रहरीकाअनुसार ठाकुर प्रसाद मानन्धरलगायतले दिएको जाहेरीका आधारमा ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा छानबिन चलिरहँदा महाजु समातिए।

सरकारी वकिल कार्यालयले भट्टचनलाई थुना मुक्त गर्न निर्देशन दिएपछि समेत सीआईबीले अनुसन्धानलाई निरन्तरता दिइरहेको थियो। सोही क्रममा प्रभु म्यानेजमेन्टले रेमिट रकम भुक्तानी मात्र गर्नुपर्नेमा रेमिट कारोबारको आवरणमा हुण्डीमार्फत रकम जम्मा गर्ने पूर्व शेयरधनी पक्राउ परेका हुन्।

अनुसन्धानका क्रममा प्रभु म्यानेजमेण्ट प्रालिको नाममा सञ्चालित सिटिजन्स बैंकको खातामा बारम्बार ९ लाख ९९ हजार ५०० रूपैयाँसम्मका शंकास्पद रकम विभिन्न व्यक्तिहरूको नामबाट जम्मा भएको भेटिएको छ ।

महाजु उक्त खाताका सञ्चालकमध्ये एक थिए। ३ दर्जन भन्दा बढी सहकारीले समेत उजुरी दिएको यस घटनामा हुण्डी कारोबारका समेत देखिएको हो। सो हुण्डीमार्फत आएको रकम सिटीजन्स बैंकमा रहेको प्रभु म्यानेजमेण्ट प्रालिको नाममा रहेको खाता जम्मा भएको सीआईबीले जनाएको छ।

प्रभु म्यानेजमेन्ट प्रालिको नाममा सञ्चालित सिटिजन्स बैंक लिमिटेडको खातामा विभिन्न व्यक्तिहरूको नामबाट पटक–पटक शङ्कास्पद रूपमा १० लाख नबढ्ने गरी ९ लाख ९९ हजार ५०० रुपैयाँ दरले पटक पटक शङ्कास्पद रूपमा रकम जम्मा भएको सीआईबीका प्रवक्ता शिव कुमार श्रेष्ठ बताउँन्छन्।

प्रारम्भिक अनुसन्धानले रेमिट्यान्स कारोबारको आवरणमा कम्पनीले रेमिट रकम भुक्तानी मात्रै गर्नुपर्नेमा, सोही दिन पटक–पटक ठुलो मात्रामा शङ्कास्पद रकम खातामा जम्मा भएको तथा सोही खातामार्फत हुन्डी मार्फत नेपाल भित्र्याइएको रकम मिलान गरिएको देखिएको सीआईबीले जनाएको छ। उक्त अवैध कारोबारमा संलग्न रहेको आशंकामा पूर्व शेयरधनी तथा कम्पनीको लेखा शाखामा कार्यरत महाजुसमेत प्रत्यक्ष रूपमा संलग्न रहेको देखिएको हो।

‘भट्टचनमाथि दर्ता गरिएको मुद्दा अहिले पनि अनुसन्धानमै छ,’ सीआईबीका प्रवक्ता श्रेष्ठले भने, ‘आवश्यक प्रक्रिया पूरा भएपछि अनुसन्धान टोलीले प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने छ ।’ भट्टचन थुनामुक्त भएपनि अनुसन्धान नसकिएकाले अनुसन्धान प्रभावित नभएको श्रेष्ठको भनाई छ। खासगरी, सीआईबीले अनुसन्धानलाई थप प्रभावित बनाउनका लागि प्रभु बैंकको केन्द्रीय कार्यालयमा छापा मारेर आवश्यक कागजागत लिएर गएको थियो। 

खानतलासीका क्रममा टोलीले प्रभु यूएस र प्रभु बैंकबीच भएको रेमिट्यान्स सम्झौता, बैंक ग्यारेन्टीसम्बन्धी कागजात र प्रभु म्यानेजमेन्टका कागजात नियन्त्रणमा लिएको छ। यसबाहेक, प्रभु हाउजिङका कर्जा फाइलहरू,साथै बैंकको आन्तरिक सञ्चार अभिलेख र इलेक्ट्रोनिक डेटा नियन्त्रणमा लिएको थियो।