काठमाडौं – काठमाडौंको तारकेश्वर क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उपसचिव हुँ भन्दै किर्ते कागज प्रयोग गरी धम्काउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका ४ घर भई काठमाडौं तारकेश्वर नगरपालिका ७ फुटुङ बस्ने ३७ वर्षीय ऐभान बहादुर महरा रहेका छन्।
सर्वसाधारणलाई धम्काउने गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनलाई काठमाडौंको तारकेश्वर नगरपालिका–९ टुसाल चोकबाट पक्राउ गरेको हो। साथै, सोधपुछको क्रममा उनी राष्ट्रिय वाणिज्य बैंकको पूर्व कर्मचारी भएको खुल्न आएको प्रहरीले जनाएको छ।
प्रहरीले उनको साथबाट राज्यमन्त्रीको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसमेत लेखिएका विभिन्न लेटरप्याडहरू, विभिन्न बैंकका स्टेटमेन्ट, एटिएम, चेकबुक, हिसाबको रेकर्ड राखिएको डायरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको डेपुटी म्यानेजर पदको परिचय पत्रलगायतका दसीका सामानहरू बरामद गरेको छ।
उनलाई यी विभिन्न सामानहरूसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया