४ वर्षे विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार


काठमाडौं – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २०८२ कात्तिक १९ गते बोलकबोल मार्फत विकास ऋणपत्र– २०८६ बिक्री खुल्ला गर्ने भएको छ । सरकारले आन्तरिक ऋण व्यवस्थापनको उद्देश्यसहित १० अर्ब रुपैयाँ ऋण उठाउने भएको हो ।

सरकारको तर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालय मार्फत विकास ऋणपत्र बोलकबोल प्रक्रियाद्वारा निष्कासन गर्ने भएकोले साे ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीले बोलपत्र पेश गर्न सक्नेछन् ।

सरकारले जारी गर्न लागेको ४ वर्षे विकास ऋणपत्र –२०८६ को ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने धितोको रुपमा प्रयोग हुने यो ऋणपत्र धितो राखी कर्जा लिन र दिन पाइने छ ।