काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, इलाममा कार्यरत रही हाल डिभिजन वन कार्यालय, भोजपुरमा कार्यरत अधिकृत (दशौं तह) दान बहादुर श्रेष्ठविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार श्रेष्ठले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको ठहर गरिएको हो। अनुसन्धानका क्रममा उनीसँग वैध आय स्रोतबाट स्पष्ट हुन नसकेको १ करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ ५२ पैसा बराबरको सम्पत्ति रहेको पाइएको आयोगले जनाएको छ।
आयोगका अनुसार श्रेष्ठले सरकारी सेवामा कार्यरत रहँदै आफ्नो वैधानिक आम्दानीभन्दा बढी स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको पाइएको हो। अनुसन्धानबाट प्राप्त विवरणअनुसार श्रेष्ठले नियुक्ति मिति २०४८ असार २६ देखि २०८० फागुन १६ सम्मको अवधिमा २ करोड १६ लाख ८५ हजार ५५७.९६ वैधानिक आय आर्जन गरेको देखिए पनि सोही अवधिमा ३ करोड ६० लाख ४ हजार ४९५.४८ बराबरको खर्च गरेको पाइएको आयोगले जनाएको छ।
यस आधारमा श्रेष्ठको कुल आयभन्दा १ करोड ४३ लाख १८ हजार ९३७.५२ बढी सम्पत्ति स्रोत पुष्टि हुन नसकेको र उक्त सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरिएको ठहर आयोगले गरेको छ। श्रेष्ठले आफ्नो पदको दुरुपयोग गर्दै आर्थिक लाभ लिएको, आम्दानीभन्दा बढी सम्पत्ति आर्जन गरेको र सो सम्पत्तिको स्रोत खुलाउन असफल भएको आरोप पत्रमा उल्लेख छ। आयोगले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम मुद्दा दायर गरेको हो।






About Us
प्रतिक्रिया