काठमाडौं – झापाको शिवशताक्षी नगरपालिका–१० निवासी ३३ वर्षीय सरोज शर्माको योजनाबद्ध हत्या प्रकरणमा संलग्न दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । भने एक भारतीय नागरिक अझै फरार रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न आरोपमा प्रहरीले २७ वर्षीय सुनिल साह र उनका भान्जा २३ वर्षीय राहुल साहलाई पक्राउ गरेको छ ।
सुनिललाई कात्तिक १४ गते मोरङको रानी सीमा क्षेत्रबाट र राहुललाई सोही दिन शिवशताक्षी–१० स्थित निजकै घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार काठमाडौंमा बस्दै आएका सरोज शर्माले सस्तोदरमा सुन किन्ने र परिचितहरूलाई पनि किनिदिने प्रस्ताव गर्दै आएका थिए। यही बहानामा उनको चिनजान सुनिल साहसँग भएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सुनिल र राहुलले शर्मासँग भएको रकम लुट्ने उद्देश्यले उनलाई योजनाबद्ध रूपमा हत्या गरेका हुन सक्ने प्रहरीले जनाएको छ ।
शव पुर्याउनका लागि शर्माकै सवारी साधन बा.प्र.०१–३० च ७१९४ नम्बरको गाडी प्रयोग गरिएको र त्यस गाडीलाई पछि जलाएर मेचीनगर–१३, निचाझोडा सिमसार क्षेत्रमा फालिएको अनुसन्धानबाट खुलेको छ। कात्तिक ९ गतेदेखि बेपत्ता रहेका शर्माको कात्तिक १३ गते जलिरहेको गाडी फेला परेको थियो भने कात्तिक १५ गते राति १ बजे बिरिङ खोलाको पुलमुनि शव भेटिएको प्रहरीले जनाएको छ।
शर्माको शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको प्रहरुरीले जनाएको छ । प्रहरीका अनुसार, पक्राउ परेका दुवैले अपराध स्वीकार गरेका छन् । उनीहरूविरुद्ध अपहरण, शरीर बन्धक, आपराधिक उपद्रव र ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालत झापाबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ।






About Us
प्रतिक्रिया