तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित दुई जनाविरुद्ध ९५ लाख ९८ हजार हिनामिना भ्रष्टाचारको मुद्दा दायर


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी र बज्रगुरु कन्सट्रक्सन कम्पनी प्रालिका प्रबन्ध निर्देशक लक्ष्मण कुमार रानाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ।

उनीहरूले राप्ती नदी क्षेत्रबाट सम्झौताभन्दा बढी परिमाणमा नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) उत्खनन गरी त्यसको राजस्व असुल नगरी ९५ लाख ९८ हजार रुपैयाँ बराबरको राजस्व हिनामिना गरेको पाइएको अख्तियारले जनाएको हो । 

गढवा गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा बज्रगुरु कन्स्ट्रक्सन कम्पनी प्रालिसँग वडा नं १ को पत्रिङ्गा घाटदेखि जेठानगाउँ घाटसम्मको क्षेत्रबाट ७२ हजार २८५ घनमिटर नदीजन्य पदार्थ उत्खनन ठेक्का सम्झौता गरेको थियो ।

तर,२०७७ साउन १३ गते गरिएको नापजाँचमा १ लाख १० हजार ६३८ घनमिटर नदीजन्य पदार्थको स्टक प्रमाणित भएको देखियो, जुन सम्झौताभन्दा बढी भएको अख्तियारको आरोप पत्रका उल्लेख छ । गाउँ कार्यपालिकाले २०७७ पुस ३ गते बढी उत्खनन भएको परिमाणको राजस्व विभाज्यकोषमा जम्मा गर्न पत्राचार गर्ने निर्णय गरेको थियो ।

गाउँपालिकाले ठेक्का सम्झौता अनुसार बढी उत्खनन भएको परिमाणको राजस्व असुल गर्न पत्राचार गरे पनि, योगीले बैंक ग्यारेन्टी फुकुवा गरिदिने गरी पत्राचार गरी गाउँपालिकालाई हानी पुर्‍याएको ठहर गरिएको छ । आयोगले उनीहरू विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको माग गर्दै आज  विशेष अदालतमा आरोप पत्र दायर गरेको जनाएको छ।