काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले भारततर्फ २८३ मेगावाट विद्युत् निर्यात गर्न अनुमति नवीकरण गरेको छ। भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले बुधबार नेपालका विभिन्न आठ जलविद्युत आयोजना मार्फत निर्यात हुने विद्युतको स्वीकृति एक वर्षका लागि नवीकरण गरेको हो।
नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपतपछि बाँकी रहेको अतिरिक्त विद्युत् भारतको ऊर्जा एक्सचेन्ज मार्फत प्रतिस्पर्धात्मक मूल्यमा बिक्री गर्दै आएको छ। यसबाहेक प्राधिकरणले भारतका हरियाणा र बिहार राज्यलाई द्विपक्षीय सम्झौता अनुसार पनि विद्युत् बिक्री गर्दै आएको छ। भारतको प्रसारण प्रणाली प्रयोग गरेर बंगलादेशमा समेत नेपालबाट विद्युत् पुगेको छ।
यसपटक भारतीय ऊर्जा एक्सचेन्जमा प्रतिस्पर्धात्मक मूल्यमा विद्युत् बिक्री गर्न स्वीकृति पाएका चार आयोजनाको अनुमति नवीकरण गरिएको हो। यी आयोजनाबाट उत्पादित १०३ मेगावाट विद्युत् बिक्री अनुमति सकिएपछि, अब करिब एक वर्षका लागि पुनः नवीकरण भएको छ, जसको प्रभाव गत मङ्गलबारदेखि लागू भएको छ।
त्यस्तै, हरियाणा राज्यसँगको द्विपक्षीय सम्झौताअनुसार करिब १८० मेगावाट विद्युत् बिक्रीको अनुमति आज ९बिहीबार० सकिँदै थियो। प्राधिकरणले हरेक वर्ष जुनदेखि अक्टोबर महिनासम्म हरियाणालाई विद्युत् बिक्री गर्दै आएको छ। यसपालि पनि ती आयोजनाबाट उत्पादित विद्युत् भारतीय ऊर्जा एक्सचेन्जमार्फत निरन्तर बिक्री गर्न स्वीकृति पाएको छ।
विद्युत् निर्यात अनुमति नविकरणका विषयमा नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले भारतको नयाँ दिल्लीमा आयोजित अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौँ सभामा भाग लिँदै भारतीय विद्युतमन्त्री मनोहरलाल खट्टर सँग भेटवार्ता गरेका थिए। भेटका क्रममा मन्त्री घिसिङले नेपालमा हाल विद्युत् उत्पादन उच्च अवस्थामा रहेको बताउँदै, निर्यात अनुमति नवीकरण प्रक्रियालाई छिटो र सहज बनाइदिन आग्रह गरेका थिए।



About Us
प्रतिक्रिया