तारकेश्वरको गोलढुंगामा लुटपाट गर्ने २ जना पक्राउ


काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिका – ५ गोलढुंगाबाट लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा मकवानपुरको भिमफेदी घर भई हाल काठमाडौंको बुढानीलकण्ठ बस्ने २६ वर्षीय सूर्य बहादुर घलान र सिन्धुलीको दुधौली घर भई हाल बुढानीलकण्ठमै बस्ने २३ वर्षीय मनोज चौधरी रहेका छन् ।

गोलढुंगा फूलबारी गेट नजिकै एक युवकलाई लुटपाट गर्ने उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लुटिएको खबर पाउनासाथै प्रहरीको टोलीले उनीहरूलाई मोटरसाइकल र लुटिएको ब्यागसहित नियन्त्रणमा लिएको हो । 

बा ४२ प ४०६९ नं.को कालो पल्सर मोटरसाइकलमा आएका उनीहरूले धारिलो हतियार देखाइ एक युवकको साथमा रहेको ब्याग नै लुटेका थिए । लुटिएको झोलामा केही नगद, रोलेक्स लेखेको एक थान घडीलगायतका सामान रहेका थिए भने पक्राउ परेकाहरूको साथबाट खुकुरी, ट्रामाडोल नामको लागु औषध लगायत बरामद गरिएको छ । उनीहरुविरुद्ध  थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।