चेकमा किर्ते हस्ताक्षर गरी डडेलधुराको सामुदायिक वनको कोषबाट १८ लाख हिनामिना, विशेष अदालतमा मुद्दा दायर


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डडेलधुराको आलिताल गाउँपालिका–३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सर्वजित मडैविरुद्ध सामुदायिक वनको कोष हिनामिना गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आज आरोप पत्र दायर गरिएको छ।

अख्तियारका अनुसार अध्यक्ष मडैले समूहका सचिव र कोषाध्यक्षको जानकारी विना नक्कली माइन्युट तयार गरी चेकमा किर्ते हस्ताक्षर गरी सामुदायिक वनको कोषबाट रकम हिनामिना गरेका हुन् । अनुसन्धानमा मिति २०७८ साल मंसिर १० गतेको माइन्युटिङ्गको प्रतिलिपि किर्ते गरी, मंसिर १६ गतेदेखि २०७९ साल वैशाख २५ गतेसम्म सात वटा चेकमार्फत कुल  २० लाख १५ हजार रकम आफ्नो नाममा झिकेको देखिएको छ। उक्त रकममध्ये  २ लाख मात्र मिति २०७९ साल जेठ ३० गते समूहको खातामा फिर्ता गरिएको र बाँकी  १८ लाख १५ हजार हिनामिना भएको पाइएको आयोगले जनाएको छ।

मडैले रकम निकाल्नुपर्ने समितिको डडेल्धुरास्थित राष्ट्रिय वाणिज्य बैंक खाताबाट नभई अत्तरिया, धनगढी, चौमाला र महेन्द्रनगर शाखाबाट रकम निकालेको पाइएको छ। डिभिजन वन कार्यालय डडेल्धुरा र आयोगबाट खटिएको टोलीको स्थलगत प्रतिवेदनसहित फरेन्सिक परीक्षण प्रतिवेदनमा समेत माइन्युट र हस्ताक्षर किर्ते भएको प्रमाणित भएको छ।

आयोगले मडैको यस्तो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूर ठहर हुने निष्कर्ष निकालेको छ। त्यसअनुसार मडैविरुद्ध १८ लाख १५ हजार को बिगो कायम गरी उक्त रकम असुल–उपर गर्न, सो बराबरको जरिवाना तथा ऐनअनुसार कैद सजाय मागदाबी गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।