काठमाडौं – काठमाडौंमा सुन भनी फलामको ढिक्का देखाएर ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–६ का ६० वर्षका कर्ण ध्वज लिम्बु, धनकुटाको चौबिसे गाउँपालिका–४ का ५१ वर्षका मानबहादुर सुवेदी, र ताप्लेजुङकै ४० वर्षका विरेन भन्ने राम लिम्बु रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–६ फेदीकी ४६ वर्षीया गीता कसीलाई सुन भनी फलामका ढिक्का देखाएर ठगी गर्ने समूहले ११ लाख नगद र ६० लाख रूपैयाँको चेक लिई फरार भएका थिए। घटनाबारे सूचना प्राप्त भएपछि प्रहरी वृत्त स्वयम्भूबाट टोली परिचालन गरी खोजतलास गर्दा, काठमाडौंको सुन्धारास्थित धुर्व पाटन होटेलबाट ती व्यक्तिहरू पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार, कर्ण ध्वज लिम्बु र मानबहादुर सुवेदी दुबैजना यसअघि पनि ठगी मुद्दामा संलग्न भई पक्राउ परेका थिए। उनीहरूको साथबाट कालो–पहेंलो लेप लगाइएका फलामका ढिक्का तीन थान, सिद्धार्थ बैंक लिमिटेडको ६० लाख रूपैयाँको चेक एक थान, र चार वटा सिम कार्ड बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि काठमाडौं जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।





About Us
प्रतिक्रिया