मधेश प्रदेशसभा सदस्य सिंहसहित १६ जनामाथि भ्रष्टाचार मुद्दा दायर


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान अयोगले मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंहसहित १६ जनामाथि भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ। 

अख्तियारका अनुसार  महोत्तरीको क्षेत्र नं. ४(ख) बाट निर्वाचित प्रदेशसभा सदस्य सिंहले आर्थिक वर्ष २०७८/७९ को प्रदेश संसदीय विकास कोष अन्तर्गत विनियोजित रकम विभिन्न उपभोक्ता समितिहरू गठन गरी ती समितिहरूको खाताबाट रकम निकालेर आफ्नै तथा श्रीमती सरिता कुमारी महतो सिंहको नाममा रहेको संयुक्त खातामा जम्मा गरेको पाइएको छ।

अनुसन्धानका क्रममा सिंहले आफ्ना स्वकीय सचिव विनोद कुमार लाल कायस्थमार्फत उपभोक्ता समितिहरूको खाताबाट रकम झिकाई कमिसनका नाममा करिब ३८ लाख ५० हजार अर्थात् कुल रकमको करिब २८.२५ प्रतिशत आफूसहितका खातामा जम्मा गरेको प्रमाणसहित पुष्टि भएको अख्तियारले जनाएको छ।

उक्त रकम मधेश प्रदेश अन्तर्गत महोत्तरीका रामगोपालपुर, मनराशिसवा र सम्सी क्षेत्रमा सञ्चालित विभिन्न विकास योजनाहरूका लागि विनियोजित १ करोड ३६ लाख २७ हजार मध्येबाट असुल गरिएको आरोप पत्रमा उल्लेख छ।

अख्तियारका अनुसार सिंहसहित रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपुत, भिखारी राउत कुर्मी, भुपेन्द्र कुमार झा, मन्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृती देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मंडल, योगेन्द्र महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवीलाई समेत प्रतिवादी बनाएको छ।

उनीहरू सबैको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिमको कसुर जन्य कार्य भएको ठहर गर्दै आयोगले विशेष अदालतमा उनीहरूलाई कानूनी सजायको मागसहित आरोप पत्र दायर गरेको हो।