राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखामा लुटपाट हुँदा फ्याँकेको ५ लाख एक युवकले गरे फिर्ता 


काठमाडौं – जेनजी पदर्शनका क्रममा अराजक समूहले राष्ट्रिय वाणिज्य बैंक नयाँ बानेश्वर लुटपाट हुँदा बाटोमा भेटेको रकम भक्तपुर घर भएर ललितपुरको बङ्गलामुखी बस्दै आएका सुरेश देउलाले जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएका छन् । उनले बाटोमा भेटेको ५ लाख १० हजार ५ सय प्रहरीलाई बुझाएको हो । 

देउलाले रकम लुटेर फर्किनेहरूको भिडियो बनाउँदै थिए । भिडियो बनाउँदै उनले सोधे, ‘यसरी बैंक लुट्न मिल्छ?’ त्यसपछि एक जनाले उनलाई पैसाको बिटो फाल्दै भन्छन्, ‘ल, यही चाहिएको होइन ?’ त्यसरी लुटेराले फ्याँकेको ५ लाख १० हजार ५ सय रुपैयाँ देउलाले प्रहरीलाई बुझाएका हुन् । लुटपाट गर्ने पाँच जनालाई नेपाली सेनाले पक्राउ गरिसकेको छ ।