बाँके- बाँकेमा अर्बौं लगानी भएको होटल व्यवसायका लागि भारतीय पर्यटक मुख्य आधार बन्दै गएका छन् । पछिल्लो पटक यहाँ सञ्चालनमा आएका क्यासिनोमा आउने भारतीय पर्यटकले होटल व्यवसायलाई चलायमान बनाएको होटल एशोसियन (हान) बाँकेका उपाध्यक्ष केशव न्यौपानेले बताए। उनले भारतीय पर्यटकको नेपालमा सहज आगमन र सत्कारमा ध्यान दिनसके होटल व्यवसायमा सकारात्मक प्रभाव पर्ने उल्लेख गरे।
होटल व्यवसायी सङ्घका अध्यक्ष रङ्गबहादुर खड्काले बाँकेमा होटल व्यवसायमा लगानी बढ्दै गइरहेको बताउँदै अब पर्यटकको बसाइ लम्ब्याउने उपायतिर सरकारीस्तरबाट पनि पहल हुनु जरुरी रहेको बताए।
‘अहिले भारतीय पर्यटक नै बाँकेका होटल व्यवसायका लागि मुख्य आधार बनेको छ’, उनले भने, ‘पर्यटकलाई स्थानीय प्रशासनले सहयोगी भूमिकाभन्दा दुःख दिने नियत राख्दा समस्या हुने गरेकाले यसमा ध्यान दिन जरुरी छ।’
होटल व्यवसायीलाई हेर्ने राज्यको दृष्टिकोण बदल्नुपर्नेमा जोड दिँदै अध्यक्ष खड्काले राज्यले होटल व्यवसायीलाई अभिभावकका रूपमा व्यवहार गर्न आग्रह गरे। उनले सरकारले पर्यटनलाई उद्योगका रूपमा बचाउ गर्न नसकेको र विनियोजित बजेट पनि अनावश्यक क्षेत्रमा खर्च भइरहेको गुनासो गरे।
नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले स्थानीय सरकारले होटल व्यवसायको विकासका लागि सहयोगी नीतिनिर्माणका लागि पहल गर्ने बताए। उनले नगरको सौन्दर्यकरणमार्फत पर्यटकलाई आकर्षण गर्ने योजनाअनुसार काम गरिरहेको उल्लेख गरे।



About Us
प्रतिक्रिया