जथाभाबी भीपीएन चलाउँदा बैंक खाता रित्तिने जोखिम


काठमाडौं – सरकारले दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गरेसँगै सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न किसिमका भीपीएनहरुको प्रयोग गर्न थालेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न एपहरूको प्रयोगका लागी जथाभाबी भीपीएन प्रयोग गर्दा बैंक खाता रित्तिने जोखिम पनि बढ्दै गइरहेको हो । 

जथाभाबी भीपीएन चलाउँदा बैंक खाता रित्तिने जोखिम बढ्छ । असुरक्षित भीपीएन प्रयोग गर्दा ह्याकरहरुले प्रयोगकर्ताहरुको बैंक खाता विवरण, पिन कोड, पासवर्ड वा अन्य गोपनीय डेटा चोरी गर्ने हुँदा भीपीएन चलाउँदा बैंक खाता रित्तिने गर्दछ ।

२०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो । तर, सूचीकरण हुन नआएपछि सरकार निष्क्रिय बनाउने निर्णयमा पुगेसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८२/०५र१९ को मन्त्रीस्तरीय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालमा सूचीकरण नभई नेपालभित्र सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा निष्क्रिय गराउने बताएको थियो ।

जसअन्तर्गत नै नेपाल दूरसञ्चार प्राधिकरणले २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको थियो ।