सिरहा – भारतबाट अवैध रूपमा भन्सार छली गरेर ल्याइएको लत्ताकपडा र दुईवटा मोटरसाइकलसहित एक युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान गोलबजार नगरपालिका– ६ गुम्बाचोक नजिकै सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाको गस्ती टोलीले उक्त सामानसहित २२ वर्षीय रामकुमार यादवलाई पक्राउ गरेको हो । यादव सुखीपुर नगरपालिका- ७ सिसवा निवासी हुन् ।
उनीसँगै रहेका अर्का मोटरसाइकल चालक भने फरार रहेको सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिए । सशस्त्र प्रहरीका अनुसार यादवको साथबाट रुपैयाँ दुई लाख ८२ हजार ८०० बराबरको कपडा र दुई लाख ५० हजार रुपैयाँ मूल्य बराबरका दुई थान मोटरसाइकल बरामद गरिएको छ । बरामद सामग्रीको मूल्य ५ लाख ३२ हजार ८०० रुपैयाँ बराबर रहेको छ।
सशस्त्र प्रहरी उपरीक्षक भण्डारीका अनुसार भारतबाट भन्सार छली गरेर सामान भित्र्याउने कार्यमा रोक लगाउन सशस्त्र प्रहरीले कडा निगरानी थालेको छ । पक्राउ परेका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको पनि उनले जानकारी दिए ।





About Us
प्रतिक्रिया