गोंगबुका विनोदको घरबाट ४ करोड २५ लाख नगद र ९ किलो सुन पनि बरामद


काठमाडौं – काठमाडौं गोंगबुस्थित ७७ वर्षीय विनोद कुमार श्रेष्ठको घरबाट प्रहरीले ४ करोड २५ लाख नगद बरामद गरेको छ।

गोरखाको गोरखा नगरपालिका–१ घर भई काठमाडौंको गोंगबुमा घर बनाएर बसेका श्रेष्ठको घरमा नगद मात्र नभएर ९ केजी ८३७ ग्राम सुन र ३ केजी २१८ ग्राम चाँदी पनि भेटिएको प्रहरीले जनाएको छ।

श्रेष्ठले सुन धितो राखेर मिटरब्याजमा पैसा लगानी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी तथा प्रवक्ता शेखर खनालले बताएका छन् ।

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको भन्ने सूचना आएपछि प्रहरीले उनको घरमा छापा मारेको थियो ।