काठमाडौं – नक्कली कागजात बनाउने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका –२६ सामाखुशी टाउनप्लानिङस्थित ईजी सप नामक पसलमा छापा मार्दा विभिन्न किसिमका किर्ते कागजातसहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गोरखा घर भई हाल काठमाडौं–३ बस्ने ४५ वर्षीय अचल लामिछाने, सुर्खेत घर भई हाल काठमाडौं धुम्बाराही बस्ने २९ वर्षीय सन्देश गौतम र काभ्रेपलाञ्चोक घर भई हाल काठमाडौं गोंगबु बस्ने २९ वर्षीय सविन आले मगर रहेका छन् ।
प्रहरीका अनुसार लामिछानेले सञ्चालन गरेको सो ईजी सप मा एसइइ प्रमाणपत्र, प्रहरी प्रतिवेदन, विभिन्न होटल तथा संस्थामा काम गरेको अनुभव पत्र लगायतका नक्कली कागजात तयार गर्ने कार्य भइरहेको गोप्य सूचनाको आधारमा छापा मारिएको हो ।
खानतलासीका क्रममा पसलमा रहेको कम्प्युटरबाट विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका किर्ते कागजात फेला परेपछि कम्प्युटर बरामद गरी तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरूलाई आवश्यक अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।





About Us
प्रतिक्रिया