काठमाडौं – बैंकिङ्ग कसुरसम्बन्धी मुद्दामा फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादीहरूलाई विभिन्न अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
पक्राउ परेकामध्ये धनुषा मिथिला नगरपालिका–८ स्थायी घर भई हाल भक्तपुर नगरपालिका–१ सिर्जनानगर बस्दै आएकी ४२ वर्षीय अम्बिका कुमारी रिजाल भक्तपुरको सिर्जना नगरबाट पक्राउ परेकी छिन्। उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको छ।
त्यसैगरी, सर्लाही बरहथवा नगरपालिका–७ स्थायी घर भई हाल गोकर्णेश्वर नगरपालिका–८ आरुवारी बस्दै आएका ३५ वर्षीय बिक्रम कुमार दमाई काठमाडौं महानगरपालिका–१४ कलंकीबाट पक्राउ परेका छन्। उनलाई प्रहरी वृत्त बौद्ध, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।
यसैबीच, बैतडी पाटन नगरपालिका–६ स्थायी घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–९ काडाघारी बस्दै आएका ४३ वर्षीय जय सिंह भण्डारी काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट पक्राउ परेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय धनगढी, कैलाली पठाइएको हो। प्रहरीका अनुसार पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान र आवश्यक कानुनी कारबाही अघि बढाइनेछ।





About Us
प्रतिक्रिया