काठमाडौं – ललितपुर महानगरपालिका–४, शान्तिकुना मार्गस्थित एक कोठामा अनलाइन जुवा (सट्टावाजी) र लागू औषध कारोबारमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालय र ललितपुर प्रहरीको संयुक्त टोलीले मङ्गलवार साँझ ५ः३० बजेतिर सिन्धुली कमलामाई नगरपालिका–२ स्थायी घर भई हाल ललितपुरमा डेरा गरी बस्ने २६ वर्षीय गौरव स्याङतानलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका स्याङतानको कोठामा गरिएको खानतलासीमा ठुलो मात्रामा नगद, इलेक्ट्रोनिक सामग्री र गाँजा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद गरेका सामानमा नेपाली रुपैयाँ ९१ लाख ५० हजार, ११ थान मोबाइल सेट, १ थान ल्यापटप, १ थान आइप्याड, नोट गन्ने मेसिन, तौल गर्ने तराजु, विभिन्न बैंकका ८ थान एटीएम कार्ड, वाइफाइ पकेट राउटर तथा १ किलो ५०० ग्राम गाँजा जस्तो देखिने पदार्थ समेत समावेश रहेको छ।
अनलाइन गेमिङमा प्रयोग गरिएको ११ थान मोबाइल, आइप्याड र ल्यापटप प्रहरीले बरामद गरेको हो । उनीमाथि जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।






About Us
प्रतिक्रिया