गोँगबुको क्वालिटी क्याफेबाट नक्कली सुनसहित एक युवक पक्राउ


काठमाडौं – काठमाडौंको गोंगबुस्थित क्वालिटी क्याफेभित्र अवैध सुनको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले निगरानी गर्दा नक्कली सुनसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोलुखुम्बुको दुधकुण्ड बस्ने पेम्बा शेर्पाको छोरा वर्ष ३३ को लाक्पा शेर्पा रहेका छन् । 

भदौ ६ गते दिउँसो करिब २ बजेर ५५ मिनेटतिर क्याफेभित्र छापा मार्दा  शेर्पालाई पक्राउ गरिएको हो । उनको साथबाट  ‘PM P A SUISSE 1 KILLO FINE GOLD 999.9 P548936’ लेखिएको सुनजस्तो देखिने एक किलो तौलको पहेँलो धातु बरामद गरिएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा पक्राउ परेका शेर्पाले सो धातुलाई वास्तविक सुनझैँ देखाइ विभिन्न व्यक्तिलाई ठगी गर्दै आएको तथ्य फेला परेको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका शेर्पालाई आवश्यक कारबाहीका लागि भदौ ८ गते जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।