वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै २१ लाख ठगी गर्ने चार जना पक्राउ 


काठमाडौं – बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठान घर भई  काठमाडौंको टोखा बस्ने गरेका ३९ वर्षीय शान्त बहादुर विक,काभ्रेपलाञ्चोक घर भई काठमाडौं महानगरपालिका–३२ बस्ने २६ वर्षीय प्रल्हाद खत्री, सिराहा घर भई काभ्रेपलाञ्चोकको  बनेपा बस्ने ४४ वर्षीय  महमद हातीम र खोटाङको हलेसी घर भई काठमाडौंको बुढानिलकण्ठ बस्ने ४६ वर्षीय तारा बस्नेत तामाङ रहेका छन् । 

पक्राउ पर्नेमध्ये विकले एक जनालाई क्यानडा पठाइदिन्छु भन्दै ६ लाख, खत्रीले ३ जनालाई कतार पठाइदिन्छु भन्दै ७ लाख, हातीमले १ जनालाई कतार पठाइदिन्छु भन्दै ३ लाख र तामाङले १ जनालाई साउथ अफ्रिका पठाइदिन्छु भन्दै ५ लाख १७ हजार ठगी गरेको प्रहरीले जनाएको छ ।

पीडितले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा उनीहरूले विभिन्न देशमा रोजगारीको प्रलोभनमा पारेर लाखौँ रुपैयाँ उठाएको तर लामो समयसम्म विदेश नपठाई सम्पर्कविहीन भएको पाइएको थियो। उनीहरूलाई विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।