रुपन्देहीमा १ करोड ७१ लाखको अवैध सामान बरामद


बुटवल– रुपन्देही प्रहरीले एक करोड ७१ लाख बराबरको भन्सार राजस्व छलेर भित्र्याइएको अवैध सामान बरामद गरेको छ । चाड पर्व नजिकिएसँगै अवैध चोरी निकासी बढ्न थालेपछि थप कडाइ गरेको प्रहरीले राजस्व छलीको सामानसहित जीप चालकलाई पनि नियन्त्रणमा लिएको छ।

बिलबिजक विनाका सामान ओसारपसार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लुम्बिनी र अस्थायी प्रहरी बिट महिलवारबाट खटिएको टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित महिलवारबाट राजस्व छलीको सामानसहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका  सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । 

मायादेवी गाउँपालिका–४ का ३० वर्षीय नारायण अग्रहरी बनियाँले चलाएको लु २ च ६३०३ नम्बरको जीपमा चेकजाँच गर्दा विना बिलबिजकका सामान फेला परेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । बरामद गरिएका सामानमा विभिन्न कम्पनीका फ्लेबर २७ कार्टुन, लाखौँ मूल्यको ई–भेप, इलेक्टिक मिक्चर, प्लाष्टिक प्याक गर्ने मेसिन लगायत अन्य सामान रहेको छ । बरामद सामानसहित जीप चालकलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । 

भारतसँग सिमाना जोडिएको रुपन्देहीमा दैनिकजसो चोरी तस्करीका घटना हुने गरेका छन् । भारतसँग खुला सिमानाका भएका कारण यहाँ दैनिकजसो हुने चोरी तस्करीमा संलग्नहरूबाट लाखौँ रुपियाँ बराबरको सामान बरामद भइरहेको प्रहरीले जनाएको छ । रुपन्देही प्रहरीले पछिल्लो समय अवैधरुपमा हुने यस्ता चोरी तस्करी नियन्त्रण तथा रोकथामका लागि सक्रियता बढाएको छ।