नक्कली शैक्षिक प्रमाणपत्र, स्ट्‍याम्प तथा स्टीकरसहित भैरहवाबाट भारतीय युवक पक्राउ


बुटवल – रूपन्देही प्रहरीले हजारौं थान नक्कली शैक्षिक प्रमाणपत्र, स्ट्‍याम्प, होलोग्राम तथा स्टीकरसहित भैरहवाबाट भारतीय युवकलाई पक्राउ गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित बसपार्कबाट नेपाल र भारतमा रहेका बिभिन्न शैक्षिक संस्था तथा विश्वविद्यालयहरुका नक्कली शैक्षिक प्रमाणपत्रहरु, स्टाम, होलोग्राम तथा स्टीकरहरुसहित भारतको कानपुर नौवस्तिका२५ वर्षिय अभिषेक यादवलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले बताए ।

रुपन्देही प्रहरीले सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी पक्राउ परेका युवकको साथमा रहेको सुटकेस खानतलासी गर्दा शैक्षिक प्रमाणपत्रहरु , विभिन्न कागजपत्रहरु, स्ट्याम्प, होलोग्राम जस्तो देखिने स्टीकरहरु, ल्यापटप, नगद, इलेक्ट्रोनिक लगायतका सामानहरु सहित नियन्त्रणमा लिइएको डीएसपी कार्कीले बताए । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरिक्षक मुकेश न्यौपानेको नेतृत्वमा खटिएको प्रहरी टोलीले होटल मुक्तिनाथ भित्र प्रवेश गर्न लागेको अवस्थामा यादवलाई पक्राउ गरेको थियो ।

प्रहरीले यादवको साथबाट त्रिभुवन विश्वविद्यालयका १ सय थान ट्रान्सक्रिप्ट र २६ थान सर्टिफिकेट, नम्बर स्ट्याम्प ३ थान, स्ट्याम्प प्याड ५ थान, त्रिभुवन विश्वविद्यालय (२०१२) लेखेको होलोग्राम ४ हजार ४० पिस, एचएसईबी लेखेको होलोग्राम २ हजार पिस, राष्ट्रिय परीक्षा बोर्ड लेखेको होलोग्राम १ हजार पिस, सिटीइभिटी लेखेको होलोग्राम १ हजार ९ सय पिस, भारतका विभिन्न विश्वविद्यालयका मार्कसिट, सर्टिफिकेटहरु, बैंक सर्टिफिकेट, बैंक लोगो, लेटरप्याड, विभिन्न कार्यालयका स्ट्याम्प, ल्यापटप, आईफोन, मोबाइल, भारतीय र नेपाली रुपैयाँ, एटीएम कार्ड लगायत सामानहरु बरामद गरेको छ ।

भारतबाट एकजनाले नक्कली सर्टिफिकेट लगायत सामान बोकेर आइरहेको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा सर्टिफिकेटहरु फेला परेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रदीप बहादुर क्षेत्रीले बताए । ‘प्रहरीलाई पहिले देखिनै यस्तो काम भैरहेको छ भन्ने सूचना आईरहेकोले त्यही सुचनालाई आधार मानि सक्रियताका साथ लागेर यो सफलतामा पुगेका हौँ ।’, प्रहरी उपरीक्षक क्षेत्रीले भने । यसमा अरू कोको सम्लग्न छन् भन्नेबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

पक्राउ परेका युवकले प्रहरीसमक्ष आफू मासिक तलबमा काम गरेको बयान दिएका छन् । यसअघि पनि आफूले नक्कली सर्टिफिकेटहरु बेलहिया नाका हुँदै नेपाल ल्याएको बताएपछि प्रहरीले विशेष अनुसन्धान सुरू गरीसकेको प्रहरी उपरीक्षक क्षेत्रीले बताए ।