काठमाडौं – चेक बाउन्सको कसुरका पक्राउ परका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) विरुद्ध ५ दिन म्याद थप भएको छ । उनलाई ५ दिन हिरासत राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले म्याद दिएको हो । गोर्खालीलाई १० करोड रुपैयाँ बराबरको चेक बाउन्सको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले चन्द्रागिरीबाट सोमबार पक्राउ गरेको थियो । ५५ वर्षीय गोर्खाली काठमाडौं महानगरपालिका वडा नम्बर–७ मा बस्दै आएका छन् ।
गोर्खाली राजनीतिक क्षेत्रसँग पनि जोडिएका व्यक्ति हुन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी सिन्धुपाल्चोक क्षेत्र नं.२ बाट नेपाली काँग्रेसको उम्मेदवार सिफारिसमा परेका थिए। तर,अन्तिममा टिकट पाउन सकेनन्।
गोर्खाली २०५८ सालमा सुन्धारास्थित बेबी लोन डिस्कोमा रोशन लिम्बुको हत्या प्रकरणमा पनि संलग्न देखिएका थिए। तरबार प्रहार गरी हत्या गरेको अभियोगमा गोर्खालीलाई दोषी ठहर गर्दै १० वर्ष कैद सजाय सुनाइएको थियो।
२०७४ र २०७५ सालमा पनि काठमाडौं मलमा ठेक्कासम्बन्धी विवादका कारण पक्राउ परेका उनी फेरि अदालतको निगरानीमा परेका छन्। यस पटक काठमाडौं जिल्ला अदालतको आदेशपछि प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको छ।





About Us
प्रतिक्रिया