६ करोड बढी क्रिप्टो र हुण्डी कारोबारमा संलग्न २ भारतीयसहित ४ जना पक्राउ 


काठमाडौं – काठमाडौं महानगरपालिका–५ कालो पुलस्थित डेरा कोठाबाट क्रिप्टो करेन्सी तथा हुण्डी कारोबारमा संलग्न चार जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये दुई जना भारतीय नागरिक रहेका छन् भने दुई जना नेपाली नागरिक रहेको  प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका– ३ घर भई हाल काठमाडौं बस्ने वर्ष २७ को ओम प्रकाश जयसवाल,बाराको  महागढीमाई नगरपालिका– ५ घर भई हाल बानेश्वर बस्ने २५ वर्षीय मनमोहन कुमार सिंह, भारतको  बिहार प्रदेश जिल्ला सितामडी बैरगनिया घर भई कालो पुल बस्ने वर्ष ३३ को विक्रम जयसवाल र भारतको देश विहार प्रदेश जिल्ला मोतिहारी चिरहिया घर भई कालो पुल बस्ने वर्ष ३३ को मुन्ना जयसवाल रहेका छन् । 

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, २०८२ साउन २९ गते दिउँसो २ः३० बजे गोप्य सूचनाका आधारमा प्रहरी टोलीले खानतलासी गर्दा उक्त कोठाबाट नगद १५ लाख ३३ हजार र पाँच थान मोबाइल बरामद गरेको हो। थप अनुसन्धानका क्रममा उनीहरूले  ६ करोड ६ लाख ६३ हजार बराबरको क्रिप्टो कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ।

उनीहरू विरुद्ध हुण्डी कारोबार र अवैध अभौतिक मुद्रा कारोबार सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार, यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको पहिचान र स्रोत पत्ता लगाउने कार्य तीव्र गतिमा भइरहेको छ।