ठमेलबाट बुद्धचित्त माला र १२ लाख नगदसहित दुई जना चिनियाँ नागरिक पक्राउ 


काठमाडौं – काठमाडौं महानगरपालिका–२६, ठमेलस्थित जेपी रोडको झिन्क्सिन इन्टरनेशनल होटलबाट प्रहरीले ११५.६५ केजी बुद्धचित्त माला र श्रोत नखुलेको १२ लाख ७० हजार रूपैयाँ नगदसहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चीनका ४६ वर्षीय लिउ जिङ्ताओ (Passport No: EM7565596) र २३ वर्षीय लिउ सियाओशुआई (Passport No: EK8567657) रहेका छन्।

प्रहरीका अनुसार दुवै जनासँग चीनको पीपल्स रिपब्लिक अफ चाइना पासपोर्ट रहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, भदौ २८ गते दिउँसो १ बजे प्रहरीले होटलका कोठा नम्बर ४०४/६०३ मा बस्दै आएका ती दुई जना विदेशी नागरिकलाई शङ्कास्पद अवस्थामा फेला पारी तलासी गर्दा बुद्धचित्त माला र नगदसहित नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीहरूको साथबाट १२ लाख ७० हजार नगद, १५५.६५केजी बुद्धचित्तको दाना तीन थान मोबाइल, र दुई थान पासपोर्ट बरामद गरेको जनाएको छ । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।