नेपालबाट स्टिलजन्य भाँडाकुँडा भारत निर्यात ठप्प, गोदाममै थन्किए सयौँ टन भाँडाकुँडा

भन्सारको राजस्वसमेत प्रभावित


बुटवल – नेपालमा उत्पादन भएर भारत निकासी हुने स्टिलका भाँडाकुँडाको निर्यात तीन महिनादेखि ठप्प भएको छ । यसले भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा रहेका र मुलुकका अन्य ठाउँमा सञ्चालित करिब दर्जन बढी उद्योग प्रभावित भएका छन् भने मुलुकको राजस्वको क्षेत्रमा पनि ठुलो असर पारेको छ । निकासी खुलाउन यहाँका उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, विशेष आर्थिक क्षेत्र (सेज), उद्योग, वाणिज्य तथा आपूर्ति  मन्त्रालयसम्म उद्योगीहरूले गुहार मागेका छन् । सरकारी निकायले पनि विभागीय प्रयास हुँदै भारतलाई पत्राचार गरिसकेको छ । तर, महिनौँ भइसक्दा पनि यो समस्या समाधानमा भारत सरकारले चासो देखाएको छैन । 

भारतले स्टिलजन्य उत्पादनका लागि आयात गरिने कच्चा पदार्थमा गुणस्तरको लोगो अनिवार्य गरेपछि तीन महिनाभन्दा लामो समयदेखि नेपालबाट स्टिलका भाँडाकुँडा निर्यात रोकिएको हो । यसअघि उत्पादित वस्तुमा मात्र ब्युरो अफ इन्डियन स्टान्डर्ड (बीआईएस) अनिवार्य थियो भने अहिले कच्चा पदार्थमा पनि बीआईएस खोजिएको छ ।  यी सामानका लागि चाहिने कच्चा पदार्थ नेपालमा चीनबाट आउँछ । चीनबाट कच्चा पदार्थ ल्याएर भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) र वीरगन्जमा  स्टिलका भाँडाकुँडा उत्पादन गर्ने ठुला उद्योग स्थापना भएका छन् । भैरहवा सेजमा रहेको भिस्तार ग्लोबल प्रालिसहित पञ्चकन्या स्टिलका स्टिलजन्य वस्तु भैहरवा भन्सारबाट सबैभन्दा धेरै निकासी हुनेमध्येमा छैटौँ नम्बरमा थिए। तर, अहिले रोकिएका छन् । पञ्चकन्याले स्टेनलेस स्टिल ट्यांकी र भिस्तारले स्टिलका विभिन्न घरायसी प्रयोजनका सामग्री निर्यात गरिरहेका थिए । पञ्चकन्या समूहका जनरल म्यानेजर देवेन्द्र साहुका अनुसार भारत सरकारले नीति परिवर्तन गरेर कच्चा पदार्थमा बीआईएस अनिवार्य गरेपछि निर्यात ठप्प भएको हो ।

अहिलेको नियमअनुसार भारतबाट प्रमाणित कच्चा पदार्थ ल्याएर भाँडाकुँडा निर्माण गरेर उतै पठाउनुपर्ने जस्तो देखिएको उनले बताए । ‘अहिलेसम्म उद्योग विभागबाट उत्पादन प्रमाणपत्र लिएर आवश्यक भ्यालु एड गरेर सामान पठाउँदै आएका थियौँ,’ उनले भने, ‘अब कच्चा पदार्थ भारतको, उद्योग संरचना मात्र नेपालको जस्तो हुने भयो । यहाँ उत्पादन भएका भाँडाकुँडा भारतमा निर्यात हुन छाडेपछि भैरहवा सेजमा रहेको पञ्चकन्या उद्योग अस्थायी रूपमा बन्द हुने अवस्थामा पुगेको छ ।  

भिस्तार ग्लोबलका लेखा प्रमुख अरबिन्द त्रिपाठीले उद्योगले महिनामा ४ सय टन भान्सामा उपयोग हुने भाँडाकुँडा उत्पादन गर्दै आएको बताए । तर, अहिले स्थानीय बजारमा आपूर्ति गर्न मासिक २०/३० टन मात्र उत्पादन भइरहेको छ । भारतमा निर्यात गर्न नपाएपछि अहिले गोदाममा सयौं टन भाँडाकुँडा थन्किएको उनले बताए । ‘नेपालमा हाम्रो उत्पादन खपत हुनै सक्दैन । अझै केही समय यस्तै अबस्था रहने हो भने उद्योग नै बन्द गर्नुपर्ने अबस्था आउँछ ।’, त्रिपाठीले भने । भिस्तार ग्लोबलमा मात्र करिब ४ सय कामदारहरूले रोजगारी पाएका थिए । अहिले ४०/५० जना मात्रै कामदार रहेका छन् । भिस्तारा ग्लोबल उद्योगको ९० प्रतिशतभन्दा धेरै उत्पादन भारत निर्यात हुँदै आएको थियो ।

भैरहवा भन्सार कार्यालयको रेकर्डमा पनि सबैभन्दा धेरै निर्यात गर्ने वस्तुमध्येमा यो उद्योगका उत्पादन पनि छन् । अन्य मुलुकमा नेपालबाट सिधै निकासीको पहल गर्नुपर्ने उद्योगीको माग छ । भारतले यसअघि नेपालबाट निर्यात हुने स्यानिटरी प्याड, प्लाइउड, जुत्ता चप्पल र सिमेन्ट/क्लिंकरमा पनि बीआईएस लागू गरेको थियो । 

भारतमा स्टीलजन्य उत्पादन निकासी गर्न नेपाली निकासीकर्ता भारतमा स्टील निर्यात गर्ने प्रणाली ‘स्टील इम्पोर्ट म्यानेजमेन्ट सिस्टम (सिम्स)’मा दर्ता हुनुपर्छ । सिम्समा भारतका आयातकर्ताले कुन देशबाट कुन स्टीलजन्य उत्पादन तथा वस्तु ल्याउने भनेर सूचीकृत हुन्छ । त्यसअनुसार भारतमा वस्तु जानुभन्दा पहिला सिम्स अनलाइन पोर्टलमा दर्ता हुनुपर्छ । सिम्समा इन्ट्री गरेपछि मात्र भारतीय भन्सारले स्वीकृति दिने गर्छ । त्यसपछि मात्रै भारतमा स्टीलको सामान निर्यात गर्न सकिन्छ । तर, अहिले सिम्समा नेपालको मात्र नाम हटाइएको छ ।

भैरहवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले भारतले लागू गरेको यो नियम अन्तर्राष्ट्रिय मापदण्डअनुसार उपयुक्त नभएको बताए । तीन महिना भन्दा बढी समयदेखि स्टिलजन्य सामानको निर्यात रोकिएको उनले बताए । ‘भारतले स्टिल आयात व्यवस्थामा नयाँ सफ्टवेयर जडान गर्याे,’ उनले भने, ‘उक्त सफ्ट्वेयरमा नेपाल उल्लेख नगरिएकाले समस्या भएको हो ।’ भन्सारका अनुसार गत आर्थिक वर्ष मुलुकबाट निर्यात भएका प्रमुख १० वस्तुमा फलाम वा स्टिल भाँडाकुँडाको योगदान छैटौँ नम्बरमा छ । गत वर्ष ७३ करोड ६२ लाख ५८ हजारको भाँडाकुँडा निर्यात भएको छ । 

भारतीय पक्षले कच्चा पदार्थमा बिआइएस प्रमाणपत्र नभएको कारण देखाउँदै सिम्सबाट नेपाललाई हटाएको नेपाली उद्योगीहरुको भनाई छ । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले यस निर्णयले नेपाली स्टिल उद्योगलाई ठुलो धक्का लाग्ने बताए । ‘यो कदमले हाम्रो उत्पादन र निर्यातमा प्रत्यक्ष असर पार्नेछ, जसले गर्दा रोजगारी र समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न सक्छ ।’, ‘कच्चा पदार्थमा गुणस्तरको लोगो सम्भव हुँदैन, यसले लगानीकर्तालाई समस्या पार्छ । त्यसैले नेपाल सरकारले भारतसँग समन्वय गरेर समस्या समाधान गर्नुपर्छ ।’ भारतले चिनियाँ कच्चा पदार्थलाई रोकेर कच्चा पदार्थ पनि भारतबाटै आओस् भन्ने मनसायले निर्यात रोकेको हुनसक्ने उनको भनाई छ ।  

भैरहवा सेजका सह–निर्देशक मेकानिकल इन्जिनियर सबुत डुम्रेले भारतले कच्चा पदार्थमा पनि बीआईएस खोज्नु भनेको अब कच्चा पदार्थ चीनबाट नल्याइयोस् भन्ने उद्देश्यले हुनसक्ने दाबी गरे । ‘भारतीयहरूकै लगानीमा  करोडौँ लगानीमा स्थापना भएको उद्योगको ९० प्रतिशत उत्पादन भारतमै जान्थ्यो र त्यहाँबाट अरू मुलुकमा पनि जान्थ्यो तर त्यहीँ उद्योगका उत्पादनलाई पनि रोक्नु भनेको चिनियाँ कच्चा पदार्थ रोक लगाउन खोजेको मनसाय देखिन्छ ।,’ इन्जिनियर डुम्रेको भनाइ छ । यस विषयमा उद्योग मन्त्रालयमा खबर गरिएको भए पनि मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालय, भारतीय दूतावास लगायतमा पहल गर्नुपर्ने भएको कारण समस्या समाधान हुन अझै केही समय लाग्न सक्ने उनले बताए ।