रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान याम बहादुर खत्री १५ हजार घुससहित पक्राउ


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगावामा कार्यरत सशस्त्र प्रहरी जवान याम बहादुर खत्रीलाई घुस रकमसहित पक्राउ गरेको छ। 

आयोगको बुटवल कार्यालयका अनुसार खत्रीले सीमा पारि भारतबाट भन्सार छली अवैध रूपमा कपडा तथा किराना सामान ल्याउने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस मागेका थिए । उनलाई अख्तियारले १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

सूचना तथा उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले खत्रीलाई सेवाग्राहीबाट रकम लिइसकेको अवस्थामा कोटहीमाई गाउँपालिका–५ मा नियन्त्रणमा लिएको अख्तियारले जनाउको छ । खत्रीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।