विराटनगर – एनएमबी बैंक लिमिटेडको मुख्य नेतृत्वमा प्रभु बैंक र नबिल बैंकको ७५ प्रतिशत ऋण लगानी रहेको २१.९३ मेगावाट क्षमताको काबेली–३ क्यास्केड जलविद्युत आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ । काबेली हाइड्रोपावर कम्पनी लिमिटेडको प्रवर्द्धनमा काबेली नदी बेसिनमा निर्माण सम्पन्न भएको आयोजनाले मंगलबारदेखि परीक्षण उत्पादन सुरु गरेको आयोजना प्रतिनिधि मेघनाथ ढुंगानाले जानकारी दिए ।
काबेली हाइड्रोकै लगानीकर्ताहरू सम्बद्ध रहेको हिल्टन हाइड्रो पावर कम्पनीले निर्माण गरेको १२ मेगावाटको सुपर काबेली खोला हाइड्रोबाट निस्किएको पानीलाई खोलामा खस्नै नदिई अर्को हेडरेस टनेल (सुरुङ) बाट सिधै लगेर काबेली–३ क्यास्केडको विद्युत गृहमा खसालेर विद्युत उत्पादन गरिएको हो।
रन अफ रिभर (आरओआर) मा आधारित आयोजनाको पावरहाउस ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–५ पेदाङ खोलाखेतमा रहेको जनाइएको छ। पावर हाउसमा जडित १०.९५६ मेगावाट क्षमताका दुई वटा टर्बाइनबाट विद्युतको परीक्षण उत्पादन भइरहेको ढुंगानाले बताए।

उत्पादित विद्युत् पाँचथरको हिलिहाङ गाउँपालिका–१ दुबिचौरस्थित नेपाल विद्युत प्राधिकरणको १३२ केभी प्रशारण लाइनमार्फत सबस्टेशनबाट राष्ट्रिय ग्रिडमा जोडिएको छ । पावर हाउसबाट उत्पादित विद्युतलाई सबस्टेशनसम्म पु¥याउन ३१ वटा टावर निर्माण गरिएको जनाइएको छ । ४ अर्ब २८ करोड ५० लाख १ हजार रुपैयाँ लागत रहेको यो आयोजना २०७९ माघ ५ मा निर्माण सुरु भएको थियो। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ खेवाङको ओथामबाट ५ दशमलव १४० किलोमिटर लामो सुरुङमार्फत पानीलाई पेदाङ खोला खेतमा रहेको पावर हाउसमा पठाइएको छ।
आयोजनाको निर्माणमा प्रवर्द्धकको तर्फबाट २५ प्रतिशत र बाँकी ७५ प्रतिशत लगानी बैंकमार्फत जुटाइएको हो । उक्त लागतमध्ये २५ प्रतिशत स्वपुँजीबाट र ७५ प्रतिशत ऋण लगानी एनएमबि बैंक लिमिटेडको नेतृत्वमा प्रभु बैंक लिमिटेड तथा नबिल बैंक लिमिटेडबाट उपलब्ध गराइएको हो ।

काबेली हाइड्रोपावर कम्पनी लिमिटेडकै लगानीकर्ताहरूले काबेली खोलाबाट काबेली–३ क्यास्केडसहित तीन वटा आयोजना सम्पन्न गरेको छ । कम्पनीले सुपर काबेली खोला हाइड्रो (१२ मेगावाट) र सुपर काबेली खोला ए (१३.५ मेगावाट) निर्माण सम्पन्न गरेर व्यावसायिक उत्पादन गरिरहेको ढुंगानाले बताए । काबेली खोलामा निर्मित काबेली बी–१ (२५ मेगावाट) र काबेली बि–१ क्यास्केड (१० मेगावाट) ले समेत व्यावसायिक उत्पादन गरिसकेका छन् । अपर काबेली (२८.१ मेगावाट) र काबेली ए (३७ मेगावाट) भने निर्माणाधीन रहेका छन् ।






About Us
प्रतिक्रिया