बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ स्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाको स्वतन्त्र लेखा परीक्षकको प्रतिवेदन समितिलाई हस्तान्तरण गरिएको छ । सहकारीको बचत रकम अपचलनका सन्दर्भमा गठित स्वतन्त्र लेखा परीक्षकको प्रतिवेदनले १२ करोड रुपैयाँ हिनामिना तथा करिब २५ करोड रुपैयाँ नियम विपरीत लगानी गरेको देखिएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सहकारीबाट सर्वसाधारण बचतकर्ताको करोडौँ रकम हिनामिना गरेर अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर क्षेत्री एकाएक फरार भएपछि सहकारीका अन्य सञ्चालक र बचतकर्ताले लेखा परीक्षक योगचन्द्र बास्तोलाको नेतृत्वमा स्वतन्त्र लेखा परीक्षण गर्न समिति बनाएका थिए । उक्त समितिले २८ दिन लगाएर गरेको करिब ४५० पृष्ठको अनुसन्धान प्रतिवेदन समितिका कोषाध्यक्ष र बचतकर्ताद्वारा गठित छानबिन व्यवस्थापन तथा समन्वय समितिलाई हस्तान्तरण गरेको हो । लेखा परीक्षक बास्तोलाले आफूहरूले उक्त सहकारीको दुग्ध कारोबार बाहेकको सम्पूर्ण हिसाब अध्ययन गरी प्रतिवेदनमा समावेश गरेको बताए । सहकारीका कोषाध्यक्ष सुरेन्द्र बज्राचार्यले यो प्रतिवेदन लुम्बिनी प्रदेश सहकारी दर्ता रजिस्ट्रारको कार्यालयमा बुझाउने बताए ।
लेख परीक्षकले दिएको प्रतिवेदनमा सहकारीको १२ करोड रुपैयाँ हिनामिना गरेको देखिएको तथा करिब २५ करोड रुपैयाँ नियम विपरीत लगानी गरेको पुष्टि भएको छानबिन समिति स्रोतले जनाएको छ । गएको असार १७ गते सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर क्षेत्री बचतकर्ताको करोडौँ अपचलन गरी फरार भएपछि बचतकर्ताले उनीहरूलाई कारबाहीको माग गर्दै आफ्नो बचत फिर्ताको वातावरण बनाउन लगातार प्रशासनलाई दबाब दिँदै आएका थिए ।
यसबिचमा सहकारीका व्यवस्थापक वसन्त पराजुलीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । पछिल्ला केही दिन यता बचतकर्ताहरूले अध्यक्ष र सचिवका श्रीमतीलाई नियन्त्रणमा लिएर छलफल गरिरहेका छन् । बुधबार अपराह्नदेखि बचतकर्ता र अध्यक्ष तिवारीकी श्रीमती शारदा तिवारी र सचिवको श्रीमती गीतादेवी पन्थीबिच छलफल भए पनि कुनै सहमति जुटेको छैन । अहिले पनि उनीहरू बचतकर्ताहरूको नियन्त्रणमै रहेका छन् ।
करोडौँ बचत अपचलनको तथ्य बाहिरिएपछि तीन सय बढी बचतकर्ताहरूले प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालय र इलाका प्रहरी कार्यालय बुटवलमा सञ्चालकहरुविरुद्ध निवेदन दिएका थिए । उनीहरूले ठगी गर्नेहरूलाई मुलुकी अपराध संहिता, २०७४ परिच्छेद २१ को दफा २४९ बमोजिम कारबाहीको माग गरेका छन् । असार १७ देखि फरार अध्यक्ष र सचिव दुवै जनाविरुद्ध रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ । तर, प्रहरी उनीहरूको खोजीमा गम्भीर नभएको भन्दै बचतकर्ता थप आक्रोशित छन् ।
विसं २०५० सालमा स्थापना भएको यो सहकारीमा करिब २ हजार सदस्य तथा ३८ करोड रुपैयाँ पुँजी रहेको छ । अध्यक्ष तिवारी विगत लामो समयदेखि अध्यक्ष पदमा रहेको पाइएको छ । प्रदेश सहकारी ऐन, २०७६ को दफा ३७ को उपदफा (१) मा, एउटै व्यक्ति लगातार एउटै पदमा दुई पटकभन्दा बढी सञ्चालक हुन नपाउने व्यवस्था छ । यो ऐन बन्नुभन्दा अगाडि पनि नेतृत्वमा दुई कार्यकाल भन्दा बढी बस्नु सङ्घीय कानुन विपरीत छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गणेश सापकोटाले फरार अध्यक्ष र सचिवको खोजी जारी रहेको बताए ।





About Us
प्रतिक्रिया