नक्कली सुन र विदेशी मुद्रा देखाई ठगी तीन जना प्रहरीको फन्दामा 


काठमाडौं – नक्कली सुन र विदेशी मुद्रा देखाई ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका– १० कोकटी घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका– ६ बस्ने ४७ वर्षीय बिमल तामाङ , सिन्धुली दुधौली नगरपालिका– १२ घर भई हाल काठमाडौं बालुवाखानी बस्ने ३९ वर्षीय लाल बहादुर घिसिङ र खोटाङको दिक्तेल मझुवागडी नगरपालिका–१४ बुईपा घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका– १ लोकन्थली बस्ने ३९ वर्षीय भक्त बहादुर गदाल वि.क. रहेका छन् । 

उनीहरूले काठमाडौं उपत्यका स्थित विभिन्न स्थानहरूमा बसोबास गर्ने ६ जना पीडितहरूलाई र फरक फरक समयमा नक्कली सुनलाई सक्कली सुन हो, समस्या पर्‍यो यो राखेर नगद पैसा वा सुनका गरगहना जे छ दिनुहोस् भनी सोझा साझा महिला तथा बृद्धहरुलाई निशाना बनाई नक्कली सुन छाडी पीडितसँग भएको सुनका गर गहनाहरू तथा नगद समेत ठगी गरी फरार भएका थिए । 

उनीहरूले एक दुईवटा सक्कली नोट सोही साइजको कागजको बिटोमाथि राखी आफूसँग साउदी रियाल तथा अन्य देशका मुद्राहरू छ भनी माथि भएको सक्कली नोट देखाई बजार मूल्यभन्दा धेरै कम मूल्यमा दिन्छु भनी विभिन्न बहाना बनाई, प्रलोभन देखाई ललाई फकाई झुक्यानमा पारी ठगी तथा सटही गर्न भनी लिएर आएको नेपाली रुपैयाँ लुटपाट गरेको प्रहरीले जनाएको छ।  

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले अनुसन्धान गर्ने क्रममा काठमाडौं तथा भक्तपुरका विभिन्न स्थानहरूमा फेला पारी पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।  प्रहरीले उनीहरूको साथबाट ठगी तथा लुटपाटमा प्रयोग भएको ना.५७ प १५१६ नम्बरको स्कुटर, ठगी गर्न प्रयोग भएको नक्कली सुनको ढिक्का ४ थान र सुन पसलबाट बरामद भएको सुन जस्तो देखिने पहेँलो धातु ९१७.६० ग्राम १ थान बरामद गरेको छ ।