वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै १५ लाख ठगी गर्ने चार पक्राउ 


काठमाडौं – वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका– ४  बस्ने ३५ वर्षीय सुजन वि.क., सर्लाहीको चक्रघट्टा गाउँपालिका– ४ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका– २ बस्ने ३४ वर्षीय सतेन्द्र  अधिकारी, सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका १ घर भई काठमाडौंको काठमाडौं महानगरपालिका –६ बस्ने २६ वर्षीय नविन खड्का र  सर्लाहीको विष्णु गाउँपालिका– ७ घर भई काठमाडौंको काठमाडौं महानगरपालिका– ६ बस्ने ४१ वर्षीय राज नारायण महतो रहेका छन् । 

उनीहरूले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्क विहीन भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमध्ये विकले जापान पठाइदिन्छु भन्दै  १ जनासँग ८ लाख ५० हजार,  अधिकारीले कतार पठाइदिन्छु भन्दै १ जनासँग ९० हजार, खड्काले  कम्बोडिया पठाइदिन्छु भन्दै १ जनासँग ३ लाख र महतोले कुवेत पठाइदिन्छु भन्दै २ लाख ५० हजार ठगी  गरी फरार भएको खुल्न आएको छ । 

उनीहरूलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।