देशको विकास वैदेशिक सहायताबाट नै सम्भव छ: सह–सचिव शर्मा


काठमाडौं – अर्थमन्त्रालयका सह–सचिव धनिराम शर्माले देशको विकास वैदेशिक सहायताबाट नै सम्भव रहेको बताएका छन् । पछिल्लो समय वैदेशिक सहायता लिन नहुने जस्ता विषय उठ्ने गरेको भन्दै देशको विकास पनि वैदेशिक सहायताबाट नै सम्भव रहेको उनले बताएका हुन् । 

उनले तीव्र विकास गरेका देशहरूले वैदेशिक सहायताबाट विकास गरेको बताए । ‘हामीले हाम्रो नीतिअनुसार वैदेशिक सहायता लिँदै आएका छौँ ।’ उनले भने, अहिले हेर्ने हो भने जतिपनि मुलुकहरूले तीव्र विकास गरेका छन् । ती देशहरूले वैदेशिक सहायता लिएकै हुन्छन् ।’

उनले देशको तीव्र विकासका लागि आन्तरिक स्रोतले मात्रै पूरा नहुने हुँदा वैदेशिक सहायता आवश्यक पर्ने बताए । उनले वैदेशिक सहायताले प्रविधि पनि भित्र्याउँदै आएको समेत उल्लेख गरेका छन् । त्यस्तै, उनले वैदेशिक सहायता सम्झौताअनुसार आउने भएकाले कुनैपनि  देशले चाहाअनुसारको आउन नसक्ने बताएका छन् ।

वैदेशिक सहायता परिचालन नीति २०८२ बाट उत्पादन र उत्पादकत्व वृद्धि गर्ने यस नीतिको उद्देश्य रहेको उनले बताए ।  नयाँ नीति अनुसार विकास सहायता परिचालन गरी स्वदेशी तथा विदेशी पुँजी र प्रविधि परिचालन हुने उपयुक्त वातावरण सिर्जना गरिने भएको छ । यसका साथै आयोजना तथा कार्यक्रम कार्यान्वयनमा तीव्रता दिई वैदेशिक सहायताको उपयोग क्षमता वृद्धि गरिने उनले जानकारी दिए । 

‘वैदेशिक सहायता परिचालनमा राष्ट्रको नेतृत्वदायी भूमिका स्थापित गरी उपयोग क्षमतामा गुणात्मक वृद्धि गर्ने यस नीतिले लक्ष्य राखेको छ ।’ यसमा पूर्ण रूपमा कार्यान्वयन गरिने उनको जिकिर छ । ‘सरकारको माध्यमबाट आउने वैदेशिक साहयतालाई प्राथमिकता दिँदै गर्दा अहिलेको समयमा एनजिओ,आइएनजिओबाट उतिकै आइरहँदा यसलाई पनि व्यवस्थापन रूपले अघि बढ्ने रणनीति लिइएको छ।’ उनले बताए ।