विराटनगर – कोशी प्रदेशमा प्रहरीले फरार प्रतिवादी समातेर १४ करोड ७७ लाख रुपैयाँ जरिवाना असुल गरेको छ । यो रकम पक्राउ परेका फरार प्रतिवादीले अदालतबाट फैसला हुँदा तोकिएको जरिवाना बापतको हो । नेपाल प्रहरीको कोशी प्रदेशका १४ जिल्लाका प्रहरी कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा एक हजार ४१६ जना फरार प्रतिवादीलाई पक्राउ गरेका थिए ।
सबैभन्दा धेरै जिल्ला प्रहरी कार्यालय मोरङले एक हजार १५६ जनालाई पक्राउ गरेर फैसला कार्यन्वयनका लागि अदालतमा बुझाएको छ । जसबाट एक करोड ५६ लाख ८७ हजार ९९३ रुपैयाँ जरिवाना असुल गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नारायण चिमरियाले जानकारी दिए ।
आव २०८१/८२ मा सुनसरी प्रहरीले १००२ जना, झापाले ५३४ जना, उदयपुरले २६० जना, इलामले १४६ जना, ओखलढुंगाले ६९ जना, धनकुटाले ५७ जना, पाँचथरले ४२ जना, ताप्लेजुङले ४८ जना, तेह्रथुमले ४५ जना, भोजपुरले ४४ जना, संखुवासभाले २८ जना, सोलुखुम्वुले १४ जना, खोटाङले ५३ जना र प्रादेशिक अनुसन्धान समूहले १५ जना समेत गरी तीन हजार ५१३ जना फरार प्रतिवादी पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
‘अपराध गरेपछि लुकेर या भागेर धर पाइँदैन, ढिलो होस या चाँडो जसरी जहिले भए पनि प्रहरीले अपराध गर्ने व्यक्तिलाई पक्राउ गरेरै छाड्छ’ भन्ने विश्वास दिलाउन सफल भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक पोखरेलले बताए ।
एक आर्थिक वर्षका पक्राउ परेका व्यक्तिहरूले अपराध गरेबापत अदालतबाट तोकिएको एक हजार ४१६ वर्ष कैद सजाय समेत भुक्तान गर्नेछन् ।
कोशी प्रदेशमा प्रहरीले अपराधपछि फरार भएर बसेको ४५ वर्षपछि समेत पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय इलामले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सन्दकपुर गाउँपालिका–५ का तील बहादुर गुरुङलाई ४५ वर्षपछि पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरले कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पौवादुम्मा गाउँपालिका–६ का ४६ वर्षीय शान्तकुमार राईलाई २४ वर्षपछि पक्राउ गर्न सफल भएको छ । संखुवासभा प्रहरीले कर्तव्य ज्यान मुद्दामै २१ वर्षदेखि फरार रहेका चैनपुर–९ का शम्सेर बहादुर तामाङलाई पनि पक्राउ गरेको छ ।





About Us
प्रतिक्रिया