विराटनगर – विराटनगर–७ मेनरोडस्थित सातघुम्तीमा रहेको कम्प्युटर तथा इलेक्ट्रोनिक उपकरणको विक्रेता मेगाटेक सोलुसनको विक्री केन्द्र तथा मर्मत सम्भार कक्षमा नबिल बैंकले सिलबन्दी गरेको दुई दिनपछि ग्लोबल आइएमई बैंकले पनि सिल लगाएको छ । शुक्रबार ग्लोबल आइएमई बैंकले मेगाटेकको बिक्री तथा मर्मत सम्भार कक्षको सटरमा सिक्री बाँधेर सिलबन्दी गरेको हो ।
मेगाटेककै संचालकहरू नै संचालक रहेको एशियन ब्याट्रीको उत्पादक कम्पनीे एशियन अल्ट्रा इनजी प्रालिमा तालाबन्दी गरिएको बैंकले सूचनामार्फत सार्वजनिक गरेको छ ।
मेगाटेक र एशियन अल्ट्रा इनर्जीले एउटै विक्री केन्द्रबाट कम्प्यटर, इलेक्ट्रोनिक्स र ब्याट्री बिक्री गर्दै आएका थिए । ‘यस बैंकले कर्जा असुलीको कारवाही अगाडि बढाउने सिलसिलामा आफ्नो नियन्त्रणमा लिने क्रममा तालाबन्दी गर्नुपर्ने भएकोले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, बिराटनगर महानगरपालिका वडा नं. २ र ७ तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश कार्यालयबाट खटि आएका प्रतिनिधीहरूको रोहबरमा उक्त घररपसलरगोदाम कार्यालयमा तालाबन्दी गरिएको जानकारी गराउँदछौं’ ग्लोबल आइएमई बैंकले मेगाटेकको बिक्री केन्द्रको भित्तामा टाँसेको सूचनामा उल्लेख छ ।
ग्लोबल आइएमईले उक्त कम्पनीका संचालकको विराटनगर–२ घरमा रहेको मेगाटेककै गोदाममा पनि थप शिलबन्दी गरेको छ । त्यहाँ पनि बुधबार नै नविल बैंकले कर्जा नतिरको प्रमुख कारणसहित चाबी लगाएर शिलबन्दी गरेको थियो ।कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नं. १३२२२६\०७१\०७२ रहेको एशियन अल्ट्रा इनर्जी प्रालि २०७५ माघ २९ मा दर्ता कायम भएको कम्पनी हो ।
बुधबार नविल बैंकले शिलबन्दी गरेलगत्तै ग्लोबल आईएमई बैंकका प्रतिनिधिहरूले समेत मेनरोडस्थित मेगाटेक सोलुसन्सको बिक्री कक्ष र गोदाम कक्षको स्थलगत अध्ययन गरेर फर्किएका थिए । शुक्रबार ग्लोबल आइएमई बैंकको विराटनगर हनुमानदास रोड शाखाका प्रतिनिधिहरूसहित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र विराटनगरको वडा नम्बर २ र ७ स्थित वडा कार्यालयका प्रतिनिधिसहितको रोहबरमा सिलबन्दी गरिएको जनाइएको छ ।
मेगाटेक सोलुसन्स प्रालि र एशियन अल्ट्रा इनर्जी प्रालिका संचालक एकै व्यक्तिहरू रहेको जनाइएको छ । दुवै कम्पनीले एउटै बिक्री कक्ष र मर्मत केन्द्रलाई गोदाम कायम गराएर दुबै बैंकबाट कर्जा लिएको जनाइएको छ । स्रोतका अनुसार दुवै बैंकबाट लिएको कर्जाको साँवा ब्याज गरी करिब ३५ करोड रुपैयाँ असुल उपर गर्न बैंकले कानुनी प्रक्रिया अनुसार शिलबन्दी गरेको जनाइएको छ ।



About Us
प्रतिक्रिया