बुटवल – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले लुम्बिनी बौद्ध विश्वविद्यालयको देवदह गुरुयोजना सार्वजनिक गरेका छन् । रुपन्देहीको देवदहमा झन्डै ८० अर्ब लागतमा बन्ने पूर्वाधार गुरुयोजना लुम्बिनीमा शुक्रबार आयोजित अन्तर्राष्ट्रिय छात्रावास भवनको शिलान्यास तथा देवदह गुरुयोजना सार्वजनिक कार्यक्रममा अर्थमन्त्रीले पौडेलले सार्वजनिक गरेका हुन् । विश्वविद्यालयलाई २०७७ सालमा देवदहमा झन्डै ९२ बिगाहा जमिनको सरकारले भोगाधिकार दिएको थियो । सोही जमिन ओगट्ने गरी बनेको गुरुयोजना कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा असार ३२ गते बसेको आठौंँ सभा बैठकले स्वीकृत गरेको थियो ।
सभाबाट स्वीकृत गुरुयोजना अर्थमन्त्री पौडेलले शुक्रबार सार्वजनिक गर्दै गुरुयोजनालाई पूर्णता दिन विश्वविद्यालय तदारुकतासाथ लाग्नुपर्ने बताए । ‘गुरुयोजना बनाएर मात्रै हुँदैन, यसको कार्यान्वयनका लागि विश्वविद्यालयको अग्रसरता निरन्तर हुनुपर्छ,’ उनले भने, ‘हामीहरू साथ र सहयोग गर्न सधैँ तत्पर छौँ ।’ २०५१ सालमा विश्वविद्यालय स्थापना गर्न माग गर्दै हस्ताक्षर संकलन गरिएको क्षण स्मरण गर्दै अहिले विश्वविद्यालयको स्वरूपमा पुगेको बताए ।
‘यो विश्वविद्यालय देशको एक नम्बर र विश्वकै शैक्षिक गन्तव्यका रूपमा स्थापित हुन सक्छ’, उनले भने, ‘शैक्षिक गुणस्तर कायम गरेर विद्यार्थीको रोजाइमा पुर्याउनुपर्छ।’ बौद्ध दर्शनका साथै अन्य विषयसमेत प्राध्यापन गराउँदा विश्वविद्यालय अझै प्रभावकारी रूपमा अघि बढेको उनको भनाई थियो । विश्वविद्यालयलाई लुम्बिनी र गौतम बुद्धका रूपमा ब्राण्डिङ गर्न सहज हुने भएकाले त्यसको फाइदा उठाउँदै अन्तर्राष्ट्रिय स्तरमा फैलाउन निर्देशन समेत दिए । ८० अर्बको गुरुयोजनाका मूर्तरूप दिँदै शैक्षिक गुणस्तरमा पनि अब्बल हुनुपर्ने उनले बताए ।
पूर्वाधार विकाससँगै शैक्षिक र जनशक्ति विकासका योजना बनाउन आग्रह गर्दै त्यसको कार्यान्वयनमा सरकारले काम गर्ने उनले प्रतिबद्धता जनाए । सोही अवसरमा उपप्रधानमन्त्री पौडेलले लुम्बिनी विकास कोषको गुरुयोजना पूरा हुन नसकेकोमा चिन्ता समेत व्यक्त गरे । ‘बजेट भएर मात्रै पनि विकास नहुने रहेछ, राष्ट्रिय गौरवको लुम्बिनी विकास गुरुयोजना ४० वर्ष नाघ्दा पनि सकिएन, उनले थपे,‘यस्ता संस्थाहरूको नेतृत्व लौकिक मोहबाट माथि उठेको, संस्कृति, सम्पदाको महत्त्व बुझेको र ज्ञान भएको हुनुपर्दो रहेछ ।’
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले लुम्बिनीमा शैक्षिक पर्यटन भित्र्याउनका लागि विश्वविद्यालयले प्रवर्द्धनात्मक कार्यक्रम बनाइरहेको बताए । त्रिपिटक पार्क निर्माण, देवदह शिक्षा विकास परियोजना जस्तै परियोजनाबाट प्राज्ञिकका साथै पर्यटन विकासमा टेवा पुग्ने उनले बताए ।
उनले देवदह गुरुयोजनाको सपना छिट्टै साकार हुने विश्वास व्यक्त गरे । लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्यले विश्वविद्यालयको स्थापनादेखि हालको विकाससम्म अर्थमन्त्री पौडेलले पुर्याउनुभएकाे योगदानको चर्चा गर्दै देवदह गुरुयोजना कार्यान्वयनमा पनि ठूलो सहयोग हुने विश्वास व्यक्त गरे । लुम्बिनी, देवदह र बुटवललाई शैक्षिक केन्द्रका रूपमा विकास गर्ने गरी विश्वविद्यालयले पूर्वाधार निर्माण गरिरहेको बताए ।
विश्वविद्यालयले रुपन्देहीको खडैयामा १२ करोड ८३ लाखको लागतमा एक सय जना विद्यार्थी बस्न सक्ने क्षमताको अन्तर्राष्ट्रिय होस्टेल निर्माण गर्न लागेको हो । उक्त होस्टेल २० महिनाभित्र निर्माण सकिने अपेक्षा रहेको छ । विश्वविद्यालयमा हाल करिब २ सय विदेशीसहित ३ हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।






About Us
प्रतिक्रिया