बैंकिङ्ग समाचार, काठमाडौं ।
पछिल्लो समय नेपाली बैंकिङ्ग प्रणालीमा कर्जा लगानीयोग्य पुँजी पर्याप्त हुँदापनि कर्जा प्रवाह भने सुस्ताएको छ ।
गत शनिबारसम्म बैंकिङ्ग प्रणालीमा कुल निक्षेप ५४ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा प्रवाह ४८ खर्ब ५० अर्ब रुपैयाँ छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनदेखि चैत २१ सम्म बैंक तथा वित्तीय संस्थामा २ खर्ब ७१ अर्ब रुपैयाँ कुल निक्षेप थपिएको देखिएको भएपनि बैंक तथा वित्तीय संस्थाले १ खर्ब ८ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन् ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८५.२० प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुले सीडि रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम हुने गरि कर्जा प्रवाह गर्न पाउछन् । त्यसो त सामान्य अनुमान नै लगाउने हो भने अहिले करिब १ खर्ब ५० अर्ब रूपैयाँभन्दा बढी कर्जा लगानीयोग्य पुँजी बैंकहरूमा छ । यता विभिन्न बैंकरहरुले भने ब्यवसायीहरूबाटै कर्जा मागमा कमी आएको बताउँछन । बैंकर्स संघका अध्यक्ष सुनिल केसीले अपेक्षा गरिएअनुसार कर्जा प्रवाह हुन नसके पनि अब कर्जा माग बढ्न थालेको बताएका छन् । बैंकर्स संघको निर्णयले ब्याजदर घटेसँगै कर्जा माग बढ्न थालेको उनको जिकिर छ ।
उनले भने, ‘आउँदा दिनमा कर्जाको माग बढ्ने अपेक्षा छ ।’ अन्तर्राष्ट्रिय बजारमा देखिएको आर्थिक संक्रमण, आन्तरिक अर्थतन्त्रमा आएको मन्दी लगायतका कारण लगानीको वातावरण त्यती सवल हुन नसक्दा कर्जाको माग बढ्न नसकेको हो । आउँदा दिनमा कर्जाको माग बढ्ने छ ।’
माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत एवंम बैंकर्स सघंका उपाध्यक्ष सन्तोष कोईरालाले अनुत्पादक क्षेत्रमा बढी लगानी, ब्याजदरको समस्या र व्यत्तिगत स्वार्थ परिपुर्ति गर्नलाई आन्दोलन भइरहेको बताउँदै यस्ता कारणले अर्थतन्त्र सवल नभएको बताए । उनले भने, ‘बजारमा नगद प्रवाह कम हुँदा असहज स्थिती आएको र यो परिस्थती लामो समयसम्म रहँदैन ।’ बैंकले चाहेर पनि कर्जा दिन नसकेको उनको भनाई छ ।
‘बैंकले कर्जा प्रवाह गर्न नसकेका होईनन् । अहिलेको यो अप्ठयारो स्थितीमा कर्जा प्रवाह गर्नु हुदैन भन्ने एक किसिमको अनुमान गरेर पैसा प्रवाह नगरेका हुन् ’ उनले भने । ‘बैंकले अनुत्पादक क्षेत्रको कर्जा नदिएको हो । उत्पादक क्षेत्रको कर्जा त बैंकहरुले दिराखेको छ । र बैंकहरुले ठगेको होइन केही पक्षले नबुझेको हो र केही पक्षले बुझेर पनि नबुझेजस्तो गरेको हो । बजारमा आएको नगद प्रवाहको कमिले यो अवस्था आएको हो र यो परिस्थती लामो समयसम्म रहँदैन’ उनले बताए ।
ब्याजदर एकल विन्दुमा
वैशाखबाट वाणिज्य बैंकहरूले दिने निक्षेपको ब्याजदर एकल अंकमा झरेको छ । बैंकहरूले प्रकाशित गरेको सूचनाअनुसार वाणिज्य बैंकहरूको मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशतमा झरेको छ ।
चैतसम्म मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिइरहेका बैंकहरूले १.१ प्रतिशतले ब्याजदर घटाउँदा विकास बैंक र फाइनान्सले पनि सोही अनुपातमा ब्याजदर घटाएका छन् । चैत महिनामा निक्षेपमा अधिकतम् ११.६० प्रतिशतका दरले ब्याज दिइरहेका अधिकांश विकास बैंकहरूले वैशाख महिनामा भने १०.६० प्रतिशत दिने भएका छन् ।
यस्तै चैतमा अधिकतममा १२ प्रतिशत ब्याजदर प्रदान गर्दै आइरहेका अधिकांश फाइनान्स कम्पनीहरूले पनि वैशाखमा ११.२५ प्रतिशतका दरले ब्याज दिने सूचना सार्वजनिक गरेका छन् ।
ब्याजदर घटाउने निर्णयसँगै अब वाणिज्य बैंकहरूमा संस्थागत वचतकर्ताको निक्षेपको ब्याजदर ७.९९ प्रतिशत हुने भएको छ । सामान्य बचतको ब्याजदर ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत हुनेछ । यसअघि सामान्य वचतकर्ताले ६ देखि ८ प्रतिशत ब्याज पाउँदै आएका थिए ।
खास गरी पछिल्लो समयको उच्च दरमा बढेको बैंक ब्याजदरका कारण पनि कर्जा मागमा कमी आएको हो । बढ्दो मुद्रास्फीति र घट्दो वस्तुको मागका कारण नेपाली व्यापार–व्यवसायमा मन्दी सुरु भएको छ । एउटा चिया पसलदेखि अटो व्यवसायसम्म हाल यसको प्रत्यक्ष असर देखिसकेको छ । वस्तुको उपभोगमा असर परेसँगै व्यापारमा मन्दीको संकेत देखिएको छ, जुन सरकारी तथ्यांकले देखाएको छ ।
निजी क्षेत्र मात्र होइन, जनताको जनजीवनसमेत अहिले सकसमा छ । मूल्यवृद्धि बढेको छ । आम सर्वसाधारणको भान्सा निकै महँगिएको छ ।
बैंकको बढ्दो ब्याजदरले निजी क्षेत्रलाई बहुआयामिक असर पारेको छ भने अधिकांश बैंकहरूको नाफा झन् बढ्न गएको छ । ब्याजदरको कारणले कतिपय उद्योग तथा व्यवसायहरू बन्द भएका छन् भने कति दिनप्रतिदिन संकटग्रस्त हुँदै गएका छन् ।
पछिल्लो समय लगानी गर्न पुँजी र ब्याजभन्दा पनि संरचनात्मक समस्या बढी देखिन्छ । बैंक तथा वित्तीय संस्थाले विभिन्न परियोजनामा कर्जा प्रवाह गरे पनि त्यस्ता परियोजना कार्यान्वयनमा आउन सकेका छैनन् । यी यस्तै कारणले उद्योगी व्यवसायीको आत्मबल पनि खस्किएको देखिन्छ ।



About Us
प्रतिक्रिया