काठमाडौं – क्रिप्टो कारोबारमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थायी घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका थली बस्ने ३१ वर्षीय को फुर्वा साङ्गे शेर्पा, खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा– ७ स्थायी घर भई हाल काठमाडौंको शंखरापुर नगरपालिका बस्ने ३१ वर्षीय दिपक दर्नाल, धनकुटाको महालक्ष्मी नगरपालिका–८ स्थायी घर भई ए. बस्ने ३१ वर्षीय भिम बहादुर तामाङ रहेका छन् ।
विभिन्न नामहरूबाट मेल एकाउन्ट बनाई सोबाट निषेधित बाइनान्स बाइबिट जस्ता मोबाइल एप्सहरुको प्रयोग गरी अवैध क्रिप्टो कारोबार गरिरहेको भन्ने विशेष सूचनाको जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएका प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।
उनीहरूले वैदेशिक रोजगारीमा जान लागेकाहरूलाई आर्थिक प्रलोभन देखाउँदै क्रिप्टो कारोबारमा संलग्न गराउने गरेको पाइएको प्रहरीले जनाएको छ । उनीहरूले विदेश जान इच्छुक व्यक्तिलाई विभिन्न बैंकहरूमा खाता खोल्न लगाई एटिएम कार्ड, मोबाइल बैंकिङ्ग र खातामा प्रयोग भएको सिम कार्डका साथै व्यक्तिगत विवरणको दुरुपयोग गरी अनलाइन ठगी समेत गरेको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट प्रहरीले विभिन्न कम्पनीको सिम कार्ड ३४ थान, एनटिसी र एनसेल सिम कार्ड १७३ थान, ४ लाख २० हजार नगद र ५ थान डायरी बरामद गरेको छ । उनीहरूलाई नियन्त्रणमा लिई ठगी र अभौतिक मुद्राको कारोबार गर्न नहुने मुद्दा शीर्षकमा मुद्दा सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।






About Us
प्रतिक्रिया