राजस्व सङ्कलनमा सात दशमलव ४४ प्रतिशले वृद्धि


काठमाडौं– आन्तरिक राजस्व कार्यालय धनगढीले आर्थिक वर्ष २०८१/८२ मा रु दुई अर्ब ८७ करोड ७७ लाख ८८ हजार राजस्व सङ्कलन गरेको छ । सो रकम आर्थिक वर्ष २०८०र८१ को तुलनामा सात दशमलव ४४ प्रतिशतले बढी हो ।

कार्यालयले गत आवमा रु तीन अर्ब ५३ करोड ५८ लाख ५८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा लक्ष्यको ८१ दशमलव ३९ प्रतिशत सङ्कलन भएको राजस्व कार्यालयका सूचना अधिकारी छत्रबहादुर माझीले जानकारी दिए । गत आवको लक्ष्य बराबरको राजस्व सङ्कलन नभए पनि अघिल्लो आवको तुलनामा बढी सङ्कलन भएको उनले बताए ।

राजस्व कार्यालयले गत आवमा आयकरअन्तर्गत साझेदारी आयकरबाट रु २६ करोड ७३ लाख आठ हजार, व्यक्तिगत आयकरबाट रु एक अर्ब २७ करोड ५९ लाख ८१ हजार, अन्तःशुल्क आयकरबाट रु १६ करोड ४३ लाख ९५ हजार र मूल्य अभिवृद्धि करबाट रु एक अर्ब ११ करोड चार लाख ४३ हजार राजस्व सङ्कलन गरेको उनले बताए । आव २०८०र८१ मा रु तीन अर्ब आठ करोड ४१ लाख ४० हजार लक्ष्य लिएकामा रु दुई अर्ब ६७ करोड ८४ लाख ७५ हजार राजस्व सङ्कलन गरेको थियो ।