बैंकिङ समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले नौ वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले नौं वटा वाणिज्य बैंकलाई विभिन्न नियम उल्लंघनमा कारबाही गरेको हो । गएको माघ महिनादेखि चैतसम्ममा यी बैंकहरूले विभिन्न नियम उल्लंघन गरेका हुन् ।
नेपाल बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक, हिमालयन बैंक र प्रभु बैंकले प्राप्ति गर्नुअघि सेञ्चुरी कमर्सियल बैंकलाई कर्जा निक्षेप अनुपात कायम नगरेको आधारमा कारबाही गरिएको छ ।
हाल कुमारी बैंकमा मर्ज भएको नेपाल क्रेडिट एण्ड कमर्श बैंकलाई एउटै समूहलाई एउटाभन्दा बढी सहुलियतपूर्ण कर्जा प्रवाह गरेको, कतिपय कर्जामा पर्याप्त कर्जा नोक्सानी व्यवस्था नगरेको, कर्जाको प्रिमियम दर नियम विपरीत परिवर्तन गरेको पाइएपछि कारबाही गरेको हो ।
त्यस्तै, मर्जर अगाडिका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले आफ्नो अख्तियारीभन्दा बाहिर गएर कर्जा स्वीकृत गरेको भन्दै उनलाई पाँच लाख रूपैयाँ जरिवाना गरिएको छ ।
मर्जर अघि कुमारी बैंकबाट समेत सहुलियतपूर्ण कर्जाको औचित्य पुष्टि नहुने गरी लगानी भएको, मुद्दती निक्षेपमा प्रकाशितभन्दा बढी ब्याजदर दिएको, पर्याप्त कर्जा नोक्सानी व्यवस्था नगरेको र जोखिम भार नराखेको भन्दै सचेत गराइएको छ ।
यस्तो कार्य प्रथम पटक भएको भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन विपरीत गरेको भन्दै राष्ट्रिय वाणिज्य बैंकलाई १० लाख रूपैयाँ जरिवाना गरिएको छ ।



About Us
प्रतिक्रिया