वर्कसपबाट चोरी गरेर फरार अनिल कुमार थापा पक्राउ


काठमाडौं – दोलखामा मोटरसाइकल वर्कसपबाट मोबाइल र कम्प्युटरको मोनिटर चोरी गरी फरार रहेका एक व्यक्ति चोरीका सामानसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा कालिञ्चोक गाउँपालिका–६ लेप्टुङका अनिलकुमार थापा रहेका छन्। 

दोलखाको भीमेश्वर नगरपालिका–४ अखेनीटोल डाँडागाउँ निवासी डम्बर चौलागाईंको घरमा भरत साहले सञ्चालन गर्दै आएको मोटरसाइकल वर्कसपबाट रेड्मी मोबाइल एक थान र कम्प्युटरको मोनिटर सेट एक थान चोरी भएको थियो। प्रहरीका अनुसार, लक्ष्मीपूजाका दिन  लक्ष्मीपूजा गरी ढोका खुला राखेर सञ्चालक चरिकोट बजारतर्फ गएको मौका छोपी वर्कसपभित्र रहेका उक्त सामग्री चोरी भएको थियो । 

थापामाथि सोधपुछ तथा अनुसन्धान गर्दा वर्कसपबाट करिब ३०० मिटर तल झाडीमा लुकाइछिपाइ राखिएको अवस्थामा चोरी भएका सामग्री फेला परेको प्रहरीले जनाएको छ। थापालाई  चोरीका सामानसहित  नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

Skip This