रामेछापका सबै स्थानीय तहमा अनियमितता बढ्दै,आठ स्थानीय तहको बेरुजु पौने ३८ करोड

रामेछापका सबै स्थानीय तहमा अनियमितता बढ्दै,आठ स्थानीय तहको बेरुजु पौने ३८ करोड


बैंकिङ्ग समाचार, काठमाडौं ।

रामेछापका सबै स्थानीय तहमा अनियमितता बढ्दै जाँदा बर्सेनि बेरुजु वृद्धि हुँदै गएको छ । आर्थिक वर्ष ०७८ /७९ मा आठ स्थानीय तहमा मात्रै ३७ करोड ७९ लाख सात हजार रुपैयाँ बेरुजु पुगेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । 

दुई नगरपालिका र ६ गाउँपालिकामध्ये सबैभन्दा बढी बेरुजु खाँडादेवी गाउँपालिकामा छ । आव ०७८/७९ मा नौ करोड २९ लाख १३ हजार रुपैयाँ बेरुजु देखिएको छ । आव ०७७/७८ मा खाँडादेवी गाउँपालिकाको बेरुजु पाँच करोड ६७ लाख चार हजार रुपैयाँ थियो । यस वर्ष करिब चार करोड रुपैयाँ बेरुजु बढेको हो । 

सबैभन्दा कम बेरुजु रामेछाप नगरपालिकामा छ । नगरपालिकाको चालू आवमा ७२ लाख ८३ हजार रुपैयाँ बेरुजु रकम छ । रामेछाप नगरपालिकाको आव ०७७/७८ मा एक करोड ५१ लाख ६० हजार रुपैयाँ बेरुजु थियो । गोकुलगंगा गाउँपालिकामा पनि बेरुजु रकम बढेको छ ।

गत चालू आव ०७८/७९ मा पाँच करोड ६९ लाख ३१ हजार रुपैयाँ पुगेको हो । अघिल्लो आव ०७७/७८ मा चार करोड ४६ लाख ५८ हजार रुपैयाँ थियो । लिखु तामाकोसी गाउँपालिकामा पनि बेरुजु बढेको छ । आव ०७७/७८ मा चार करोेड १७ लाख ४० हजार रुपैयाँ बेरुजु रहेको पालिकामा आव ०७८/७९ मा चार करोड ९३ लाख आठ हजार रुपैयाँ पुगेको हो । 

सुनापति गाउँपालिकामा आव ०७७/७८ मा ६७ लाख ८५ हजार रुपैयाँ मात्रै रहेकोमा गत आव ०७८/७९ मा चार करोड ७९ लाख ४५ हजार रुपैयाँ पुगेको छ । दोरम्बा शैलुङ गाउँपालिकामा आव ०७७/७८ मा एक करोड ७४ लाख ३२ हजार रहेकोमा गत आव ०७८/७९ मा चार करोड ६६ लाख ७८ हजार रुपैयाँ पुगेको छ ।

उमाकुण्ड गाउँपालिकामा आव ०७८/७९ मा दुई करोड ४७ लाख ९१ हजार रुपैयाँ पुगेको छ । मन्थली नगरपालिकाको गत आव ०७७/७८ मा तीन करोड ४३ लाख ६० हजार रुपैयाँ रहेकोमा आव ०७८र७९ मा पाँच करोड २० लाख ५८ हजार रुपैयाँ पुगेको छ ।