काेशी प्रदेश

राष्ट्रिय प्रसारणमा ८२ मेगावाटको राहत, एक महिनाभित्रै व्यवसायिक उत्पादन

तल्लो सोलु हाइड्रोले परीक्षण उत्पादन सुरु गर्दै


विराटनगर– ल्हेन्दे खोला र भोटेकोसीको बाढीले १११ मेगावाटको रसुवागढी हाइड्रोसहित १० वटा जलविद्युत आयोजनामा क्षति पुग्दा २५० मेगावाट विद्युत् गुमाएको नेपाल विद्युत् प्राधिकरणलाई एक महिनाभित्रै ८२ मेगावाट राहत हुने भएको छ । सोलुखुम्बुको सोलु खोलामा सोलु हाइड्रोले निर्माण गरेको ८२ मेगावाटको तल्लो सोलु हाइड्रोपावरले आगामी अगष्ट ४ देखि व्यावसायिक उत्पादनको लक्ष्य तय गरेर परीक्षण उत्पादन सुरु गरेको छ ।

‘रन अफ रिभर’ मा तल्लो सोलुले हेडवक्र्सदेखि सुरुङ र पावर हाउसको इलोक्ट्रोमेकानिकल कार्यको परीक्षण सम्पन्न गरिसकेको जनाएको छ । केहि दिनयता ४१ मेगावाटका दुई वटा टवाईन समेत घुमाइसकेर परीक्षण कार्य सकेको जनाएको छ। तल्लो सोलुका सहायक प्रबन्धक कृष्ण बहादुर चौधरीले परिक्षण उत्पादनका लागि नेपाल विद्युत् प्राधिकरणको टोली समेत विद्युत् गृहमा पुगिसकेको जानकारी दिए । 

उनले विद्युत् गृहदेखि तिङ्ला सवस्टेशनसम्म निर्मित करीव साढे चार किलोमिटर लामो प्रशारण लाइन पनि परीक्षण हुने र एक दुई दिनभित्रै प्राधिकरणको टोलीको निगरानीमा परीक्षण उत्पादन सुरु हुने बताए । प्राधिकरणको टोलीले अहिले टिओडी मिटर जडान लगायतका काम गरिरहेको उनले जानकारी दिए ।

‘परीक्षण उत्पादनका लागि सम्पूर्ण काम सकिएको छ, ड्याम, सुरुङ, पावर हाउस, इलेक्ट्रोमेकानिकलको काम पनि परीक्षण भइसकेको छ, हेडवक्र्सको गेट परीक्षण सकिएको छ, टर्वाइन नै पनि घुमाइसकेका छौं’ चौधरीले भने, ‘परीक्षण उत्पादनका लागि प्राधिकरणको टोली आइसकेको छ, अगष्टको पहिलो साताभित्रै व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्यमा हामी जुटेका छौं ।’ 

परीक्षण उत्पादन अघि प्रशारण लाइनको परीक्षणको तयारी पनि पुरा भएको जनाइएको छ । सोलखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ भदौरेमा रहेको विद्युत् गृहबाट तिङ्ला सबस्टेशनसम्म ४।१२ किलोमिटर लामो प्रशारण लाइन चार्ज भएपछि बर्षायाममै विद्युत् संकट व्यहोरिरहेको प्राधिकरणलाई ८२ मेगावाट विद्युत् राहत हुने भएको हो । उक्त विद्युत् तिङ्ला सवस्टेशनबाट सिरहाको मिर्चैयासम्मको ९० किलोमिटर लामो सोलु करिडोर प्रशारण लाइनमार्फत उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडिने जनाइएको छ । 

प्रशारण लाइनमा विद्युत् चार्ज गर्ने तयारी भएकोले आयोजनाले भदौरेदेखि पावर हाउसबाट तिङ्ला सवस्टेशनसम्मका प्रसारण टावर, विद्युत् लाइन र अन्य उपकरणहरू नछुन र अति सावधानी अपनाउन आग्रह गरेको छ । सरकारले ‘सुपर सिक्स’ आयोजनाका रुपमा खुला प्रतिष्पर्धाबाट तल्लो सोलु जलविद्युत आयोजनाको निर्माणको अनुमति दिएको थियो । आयोजनाको लागत १७ अर्ब रुपैयाँ रहेको छ।

यो आयोजनाले वर्षायाममा ८२ मेगावाट र सुख्खा याममा २३ मेगावाट विद्युत् उत्पादन गर्नेछ । आउँदो सेप्टेम्बरभित्र विद्युत् उत्पादन सुरु गर्ने पुनर्तालिका गरिएको यो आयोजनाको बाँध ९हेडवक्र्स० सोलुदुधकुण्ड नगरपालिका–७ स्थित साल्मेमा रहेको छ । बाँधबाट करीव ६ किलोमिटर लामो सुरुङमार्ग मार्फत भदौरेमा रहेको विद्युत् गृहमा पानी झारेर विद्युत् उत्पादन हुनेछ । 

यो जलविद्युत आयोजनामा नेदरल्याण्डस डेभलपमेन्ट बैंक र ओपेक फन्ड फर इन्टरनेशनल डेभलपमेन्ट बैंकले लगानी गरेका छन् । अन्तर्राष्ट्रिय लगानी रहेका कारण नेपाल विद्युत् प्राधिकरणले पीपीए पनि डलरमा गरेको छ । सोलु खोलामा निर्माण भएका सात वटा जलविद्युत आयोजनाको जडित क्षमता २३८.३ मेगावाट रहेको छ । 

सोलु खोलामा ५ मेगावाटको दोभान हाइड्रो, ९.८ मेगावाटको मिड सोलु हाइड्रो, १२ मेगावाटको दुधकुण्ड हाइड्रो, २० मेगावाटको बेनी हाइड्रो, २३.५ मेगावाटको माथिल्लो सोलु, ८२ मेगावाटको तल्लो सोलु र ८६ मेगावाटको सोलु दुधकोसी जलविद्युत् आयोजना रहेका छन्। यी आयोजनामध्ये मिड सोलु, दुधकुण्ड हाइड्रो, माथिल्लो सोलु र सोलु दुधकोसीबाट विद्युत् उत्पादन सुरु भइसकेको सोलु दुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जङ्मु शेर्पाले जानकारी दिए । यी जलविद्युत आयोजनामा स्वदेशी र विदेशी लगानीकर्ताबाट ५० अर्ब रुपैयाँ बढी लगानी भएको जनाइएको छ ।