बैंकरलाई ‘क्लोजिङ’ को चटारो : ऋण लगानी ठप्प, शतप्रतिशत जनशक्ति ‘रिकभरी फोकस’


काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ सक्किन लाग्दा बैंक तथा वित्तीय संस्थामा ‘क्लोजिङ’को चटारो सुरु भएको छ । बैंकहरु यतिबेला आर्थिक वर्षको अन्तिम वित्तीय विवरण कसरी सुधार गरेर सार्वजनिक गर्ने भनेर लागिरहेका छन् । आर्थिक वर्ष अन्त्य हुन अब यो साता मात्रै बाँकी छ । असारदेखि सकिने आर्थिक वर्षको ‘फाइनल’ वित्तीय विवरण साउन ७ गतेभित्र सार्वजनिक गरिसक्नुपर्ने बाध्यात्मक व्यवस्था छ । त्यसैले पनि यतिबेला बैंकहरुलाई ‘क्लोजिङ’ को चटारो सुरु भएको हो । बैंक तथा वित्तीय संस्थाहरूले अघिल्ला त्रैमाससम्म वासलतका कर्जाहरु मिलाउँदै आएका थिए ।

बैंकहरुले यसअघि वासलतमा देखाउँदै आएका सबै हरहिसाब मिलाउने त्रैमास नै अन्तिम त्रैमास भएकाले बैंकहरुलाई छुट्टै तनाव सिर्जना भएको छ । बैंक तथा वित्तीय संस्थाले केही त्रैमासपछि ‘रिकभरी’ मा सहजता आएर वासलतमा मिलाएको हरहिसाब सहजै व्यवस्थापन गर्ने अपेक्षा राखे पनि त्यसो हुन सकेको छैन । हाल पनि बैंकहरुलाई रिकभरीमा देखिएको समस्या सुल्झिएको छैन । लामो समयदेखि मन्दीमा गएको देश तङ्ग्रिन नसक्दा बैंकहरुको रिकभरीमा पनि चुनौती सिर्जना भएको छ । यतिबेला बैंक तथा वित्तीय संस्था आफूले गरेको लगानी कसरी उठाउने भन्नेतर्फ मात्रै केन्द्रित छन् ।

हाल बैंकका सबै समूह नै रिकभरीमा लागी परेको छ । बैंक व्यवस्थापनदेखि पूरा समूह नै रिकभरीमा लाग्दा पनि बैंकहरुले चाहेको जसरी पैसा उठाउन सकेका छैनन् । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तिलक राज पाण्डेय बैंकहरुलाई रिकभरीमा समस्या सिर्जना भएको बताउँछन् । उनकाअनुसार बैंकको पुरै समूह हाल रिकभरीमा लागेको छ । ‘रिकभरीमा सुधार आउन सकेको छैन’ बैंकिङ्ग समाचारसँगको कुराकानीमा उनी भन्छन्, ‘अर्थतन्त्र विस्तारै सुधारोन्मुख बन्दै जाँदा आगामी आर्थिक वर्षदेखि केही सहज पक्कै होला ।’ पछिल्लो समय देश आर्थिक मन्दीमा रहेकाले कर्जा लिएकाले तिर्न सक्ने अवस्था छैन भने व्यवसायहरु निकै सुस्त गतिमा चलिरहेका छन्। समग्र अर्थतन्त्रमा आएको मन्दीको प्रत्यक्ष प्रभावमा परेका व्यवसायीहरूले चाहँदा चाहँदै पनि कर्जा फिर्ता गर्न नसकेको अवस्था छ ।

एक वाणिज्य बैंक कर्मचारीकाअनुसार व्यवस्थापनदेखि बोर्डसम्म रिकभरीलाई लिएर चासो देखाइरहेका छन् । ‘असार मसान्तले छोएको छ । हिजोभन्दा आज ऋण रिकभरीमा चुनौती सिर्जना भएको छ’, बैंकिङ्ग समाचारसँगको कुराकानीमा ती बैंकरले भने, ‘बैंकहरुले रिकभरीमा चुनौती सामना गर्दा अन्य विषयमा चासो दिन सकेका छैनन् ।’ उनीहरुलाई बोर्डदेखि व्यवस्थापनबाट रिकभरी गर्न दवाव समेत आउने गरेको छ । बैंकहरु हाल कर्जा लगानीमा भन्दापनि आफ्नो वासलतको स्थिति सुधार्न चाहेका छन् । जसकारण, यतिबेला बैंकहरु ऋण लगानी गर्नेभन्दा पनि ऋण उठाउनतर्फ अग्रसर छन् ।

बैंकहरुले अन्तिम त्रैमासको वित्तीय विवरण सुधार्न र वासलतलाई व्यवस्थापन गर्न ऋण लगानी रोकेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार यतिबेला करिब ७ खर्ब लगानीयोग्य रकम बैंकहरुमा छ । बैंकहरुमा यतिका तरलता हुँदापनि पुँजीकोषमा आएको दबावले कतिपय बैंकहरु भने कर्जा दिनै नसक्ने अवस्थामा समेत छन् । पुँजीकोष दवावका कारण नै कुमारी, हिमालयन, माछापुच्छ्रे, सिटिजन्स र प्रभु बैंक ऋण लगानी गर्न सक्ने अवस्थामा छैनन् ।तथ्यांकअनुसार हालसम्म वाणिज्य बैंकहरुको गैह्र बैंकिङ्ग सम्पत्ती ४२ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । यस्तै, वाणिज्य बैंकहरुको खराब कर्जाको ८ प्रतिशतसम्म पुगेको तथ्यांक सार्वजनिक भइसकेको छ ।

राष्ट्र बैंकको नीतिले गर्ला सहयोग ?

नेपाल राष्ट्र बैंकले गत असार ९ गते एकीकृत निर्देशन २०८१ संशोधन गर्दै विभिन्न व्यवस्था गरेको थियो । केन्द्रीय बैंकले विभिन्न व्यवस्था गर्दा बैंकहरुलाई सहजता प्रदान गर्ने बताइएको थियो । राष्ट्र बैंकले सिमा बढी चालूपुँजी कर्जा भुक्तानीको समय, निर्देशित क्षेत्रमध्ये केही क्षेत्रका ऋण पुनर्तालिकीकरण, पुनर्संरचना र बैंकलाई निर्देशित क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जाको समय बढाएर सीमा भने घटाएको थियो । केन्द्रीय बैंकले यसो गर्दा तत्कालका लागि समस्या समाधान भएपनि पछि समस्या सुल्झिने भन्दा उल्झिन सक्ने कतिपयको बुझाइ छ । राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले गभर्नरको पद सम्हालेको केही समयमा नै बैंकर र व्यवसायीलाई खुशी बनाउने गरी यस्तो नीति लिएका हुन् ।

यता बैंकर भने गभर्नर पौडेलले यस्तो नीति लिँदा उत्साहित छन् । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले केन्द्रीय बैंकले बैंकर्स र व्यवसायीको समस्या समाधानका लागी मौद्रिक नीतिको पर्खाइ नगरी यस्तो व्यवस्था गरेको बताउँछन् । उनले राष्ट्र बैंक समस्या समाधान गर्न लचक र सहजीकरण गर्न तयार बनेको बताए । उनले केन्द्रीय बैंकले यस्तो व्यवस्था गर्दा बैंकर र व्यवसायी खाताको व्यवस्थापनमा सहज भएको बताए ।