बुटवल – ‘ब्रेक थ्रु’पछि निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको कामले गति लिएको छ । सुरुङ मार्गको मुख्य ‘टर्नेल’मा ‘इन्भर्ट’को काम सकिएको छ भने, लाइनिङको काम धमाधम चलिरहेको छ । मुख्य टर्नेलको कुल एक हजार ८९ मिटरमध्ये इन्भर्टको काम सकेर लाइनिङको एक हजार १२६ मिटरमध्ये ८३४ मिटर काम सकिएको आयोजनाका योजना प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए ।
मुख्य सुरुङमा लाइनिङको काम भने हालसम्म उत्तरतर्फ ३८८ मिटर र दक्षिणतर्फ ४४६ मिटर सकिएको छ । यो आयोजन अन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गएको माघ ११ मा गरिएको थियो । त्यसपछि तीव्र गतिमा काम भइरहेको आयोजनाले जनाएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङ मार्गको अहिलेसम्मको समग्र भौतिक प्रगति ५६.०३ प्रतिशत पुगेको छ । त्यस्तै, वित्तीय प्रगति ५०.२४ प्रतिशत रहेको छ ।
यस्तै, बाइपास–१ र बाइपास–३ मा पनि ‘इन्भर्ट र लाइनिङ’को काम भइरहेको छ । १५१ मिटर लम्बाइको बाइपास–१ मा इन्भर्टको १४५ मिटर र लाइनिङको १२४ मिटर काम भइसकेको छ । १६१ मिटर लम्बाइको बाइपास–२ मा अहिलेसम्म ‘इन्भर्ट र लाइनिङ’को काम सुरु भएको छैन । १३० मिटर लम्बाइको बाइपास–३ मा इन्र्भटको १२५ मिटर र लाइनिङको ३० मिटर काम भइसकेको योजना प्रमुख अधिकारीले बताए ।
उनका अनुसार अहिले दैनिक ६०–७० जना कामदारले काम गरिरहेका छन् । यस्तैगरी स्लोप प्रोटेक्सनको दक्षिणतर्फ २ हजार ३०० मध्ये एक हजार ४९५, उत्तरतर्फ एक हजार १०० मध्ये ४९५, एमआरवान माउन्टेन साइड ९ हजार ६२० मध्ये ४८१, एमआरटु माउन्टेन साइट ७ हजार ४४० मध्ये १४१४ स्वायर मिटर काम भएको आयोजनाले जनाएको छ । यस्तै एमआरवान रिभर साइड र एमआरटु रिभर साइडतर्फ काम सुरु भएको छैन ।
अब भित्तामा कङ्क्रेटिङ गर्ने, सडक निर्माण, सुरुङभित्र ढलान, भेन्टिलेसन, विद्युत् जडान, अक्सिजन वारपार, सुरक्षाका उपाय, आगो निभाउने यन्त्र जडानलगायत काम गरिने आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले बताइन्। त्यसपछि सुरुङमार्गको उत्तर र दक्षिणपट्टि हेलिप्याड निर्माणको काम सुरु हुने उनको भनाइ छ ।
कुल एक हजार १२६ मिटर लामो सुरुङमार्ग विसं. २०७९ देखि निर्माण सुरु भएको हो । यो आयोजना निर्माणको काम चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीइसी) ले गरिरहेको छ । यो आयोजनाको विसं २०७८ साल फागुनमा सीएससीइसीसँग ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । ठेक्का सर्तअनुसार निर्माण सुरु भएको ५ वर्षभित्र अर्थात् विसं २०८३ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने छ । यसको निर्माणपछि समेत सोही कम्पनीले पाँच वर्षसम्म मर्मतको काम गरिदिनुपर्ने सर्त छ ।
सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरबाट पाल्पाको दोभानसम्म पहिरोको जोखिमयुक्त क्षेत्र मानिन्छ । सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण थालिएको हो । यसअघि पहिरोका कारण क्षति बेहोरेका साथै त्रासदीमा यात्रा गर्नुपर्ने बाध्यतामा रहेका यात्रु सुरुङमार्गको ‘ब्रेक थ्रु’ सँगै धमाधम काम अघि बढेपछि खुसी भएका छन् । सुरुङमार्ग सम्पन्न भएपछि बाह्रै महिना जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य हुने पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए ।
छिचोलिएको सुरुङमार्गमा एक वर्षपछि सवारी आवागमन हुने आयोजनाले जनाएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा यस खण्डका लागि रकम विनियोजन गरेपछि समयमा काम सम्पन्न हुने आशा बढेको स्थानीय तोया लम्सालले बताए । संघीय सरकारले सिद्धबाबा खण्डमा निर्माणाधीन सुरुङमार्गका लागि करिब ५० करोड बजेट विनियोजन गरेको छ । स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअप्रेशन (एसडिसी) ले २०७५ सालमा यो क्षेत्रको सर्वेक्षण गरी सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरेको थियो ।
उक्त कम्पनीले सिद्धार्थ राजमार्गको चिडिया खोला–बर्तुङ सडकखण्डको सिद्धबाबादेखि दोभान प्रहरी चौकीसम्मको दुई हजार ७०० मिटर सडक क्षेत्र जोखिमयुक्त रहेको जानकारी सरकारलाई दिएको थियो । सोही सुझावअनुसार सुरुङमार्ग निर्माणको निर्णय भएको हो । विशाल चट्टानले युक्त भिरमा रक सेट अर्थात् स्लोप प्रोटेक्सनको काम गर्न सम्भव नभएको क्षेत्रमा सुरुङको प्रस्ताव भएअनुसार यो सुरुङ खन्न थालिएको हो । यो सडकलाई तराई र पहाड जोड्ने लाइफलाइन सडक मानिन्छ । यो सडक खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ तथा म्याग्दीसम्म सवारीसाधन आवतजावत गर्छन् ।





About Us
प्रतिक्रिया