मिटरब्याजमा रकम असुलीलाई अपराध घोषणा गर्ने सरकारको निर्णय

मिटरब्याजमा रकम असुलीलाई अपराध घोषणा गर्ने सरकारको निर्णय


बैंकिङ समाचार,काठमाडौं । 

सरकारले मिटरब्याजमा रकम असुली गर्नु अपराध मानिने गरी कानुनी व्यवस्था गर्ने भएको छ ।

मिटरब्याजी पीडितहरुले काठमाडौं आएर माइतीघरमा प्रदर्शन थालेको दुई दिनपछि सरकारले मिटरब्याजलाई अपराध घोषणा गर्ने निर्णय गरेको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मुलुकी अपराध संहितालगायतका कानुन संशोधन गरेर मिटरब्याजमा रकम असुलीलाई अपराध मानिने व्यवस्था गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।
कानुन संशोधनको प्रक्रिया पूरा गर्न मन्त्रिपरिषदको विधेयक समितिमा पठाउने निर्णय भएको ती मन्त्रीले जानकारी दिएका छन् । 

मन्त्रिपरिषद स्रोतका अनुसार मिटरब्याजमा रकम असुलीलाई अपराध मान्न मुलुकी अपराध संहिता ऐन, मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, मुलुकी देवानी संहिता ऐन र मुलुकी देवानी कार्यविधि संहिता ऐनका केही प्रावधान संशोधन हुनेछ ।