नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक बनेको आरोपमा सुरेन्द्र कुमार थारुविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा मोरङका शिक्षक सुरेन्द्रकुमार विश्वास थारुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार थारु मोरङको ग्रामथान गाउँपालिका–५ स्थित श्री आदर्श निकेतन आधारभूत विद्यालयमा निम्न माध्यमिक तहको गणित विषयका राहत अनुदान शिक्षकका रूपमा कार्यरत छन्।

उनले २०६३ असार १५ गतेदेखि शिक्षक पदमा नियुक्ति पाउन भारतको बिहार विद्यालय परीक्षा बोर्डबाट जारी भएको भनिएको विज्ञान (मध्यवर्ती तह) को नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।

भारतीय शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको भन्दै प्राप्त उजुरीमाथि अनुसन्धान गर्दा उनले झुट्टा तथा नक्कली प्रमाणपत्रका आधारमा राष्ट्रसेवकको ओहदा प्राप्त गरेको देखिएको आयोगको दाबी छ। आयोगले थारुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही दफाअनुसार सजायको मागदाबी गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको जनाएको छ।

Skip This