विराटनगर – कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेट मुख्यमन्त्री र मन्त्रीहरूको निर्वाचन क्षेत्रमा थुपारिएको भन्दै प्रदेश सभामा आलोचना भएको छ । कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रदेश सभामा छलफल जारी रहँदा प्रदेश सभाका सांसदहरूले मन्त्रीहरूप्रति असन्तुष्टि पोखेका हुन् ।
उनीहरूले बजेटको ठुलो हिस्सा मुख्यमन्त्री हिक्मत कुमार कार्की, भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राई र पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित भएको भन्दै आलोचना गरेका छन् । प्रतिपक्षी दलका सांसदले बजेट अहिलेसम्मकै वितरणमुखी भएको आरोप लगाएका छन् ।
उनीहरूले बजेटलाई ‘प्राथमिकताविहीन र दिशाविहीन’ भएको टिप्पणी गर्दै आएका छन् । बजेटमाथि सत्ताधारी एमाले र काँग्रेसका सांसद पनि सन्तुष्ट देखिएका छैनन् । एमालेका केही सांसदले संसदमै बजेट असन्तुलनप्रति असन्तुष्टि पोखिसकेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेको भन्दै काँग्रेसका सांसदहरू भने आफ्नै दलबाट बनेका मन्त्रीहरूसँग रिसाएर संसद्मा रुची पूर्वक बोलेका छैनन् ।
राप्रपाकी प्रमुख सचेतक सविना बजगाईँले मुख्यमन्त्री कार्की र सभामुख अम्बर बहादुर विष्टको घर भएको गौरा दहको एउटा पोखरीमा करोडौँ रकम छुट्टाएको भन्दै असन्तुष्टि जनाइन् । प्रधानमन्त्री केपी ओलीको समेत निर्वाचन क्षेत्रभित्र पर्ने उक्त पोखरीमा प्रदेशबाट यस वर्ष ४ करोड ५ लाख र सङ्घीय बजेटबाट २ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन भएको बजेट पुस्तिकामा उल्लेख छ ।
यसलाई सांसदहरूले ‘आफ्नो हात जगन्नाथ’ भन्दै व्यङ्ग गरेका छन् । एमाले सांसद लिलाबल्लभ अधिकारीले अघिल्लै बजेटको निरन्तरता जस्तो गरी बजेट आएको टिप्पणी गरे । नीति तथा सिद्धान्त र प्राथमिकता एकातिर, बजेट अर्कोतिर हुने गरी आएको बताए । नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राईले आगामी वर्ष निर्माण गर्ने प्रस्ताव गरिएका १० वटा प्रहरी भवन मध्ये मुख्यमन्त्री कार्कीको जिल्ला झापा र भौतिक पूर्वाधार विकास मन्त्री राईको जिल्ला खोटाङमा मात्रै बाँडिएको दाबी गरे ।
सोमबार प्रदेश सभामा बोल्दै राईले मुख्यमन्त्री र मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रतिर मात्रै ‘घोप्टाएको’ आरोप लगाए । ‘यो बजेट इतिहासकै सर्वाधिक झुरेष्ट बजेट छ, मैले मेरो जिल्लामा बजेट परेन भनेर भनेको होइन, एउटा उदाहरण भन्छु, जम्मा प्रहरी भवन १० वटामा खोटाङमा ५ वटा, झापामा ४ वटा । मन्त्रीहरूले त्यहाँ मात्रै प्रहरी चाहिन्छ भन्ने कसरी सोच्नु भयो ?, उनले भने– ‘अनि भौतिक पूर्वाधारको जम्मा १० अर्बको ५७ करोड बजेटमा मन्त्रीको जिल्लामा १ अर्ब गएको छ, मुख्यमन्त्रीको जिल्लामा डेढ अर्ब गएको छ ।’ उनले बजेटमा यस्तो बेथिति कहिले पनि नभएको टिप्पणी गरे ।
पर्यटन मन्त्रीको निर्वाचन क्षेत्रमा वडैपिच्छे योजना
प्रदेश सभामा मन्त्रीहरूले बजेटको ठुलो हिस्सा आफ्नो जिल्ला र निर्वाचन क्षेत्र केन्द्रित गरेको भन्दै आलोचना भइरहेकोमा त्यसैलाई पुष्टि हुने गरी कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले आफ्नो मन्त्रालयको बजेट विनियोजन गरेका छन् । आफ्नो मन्त्रालय मातहतको पर्यटन विकास आयोजनाबाट विनियोजित भएका साढे पाँच सय योजना मध्ये त्यसको २५ प्रतिशत योजना मन्त्री मण्डलको निर्वाचन सुनसरी–४ (१) मा केन्द्रित गरेका छन् ।
उक्त विकास आयोजना अन्तरगत पर्यटन पूर्वाधारका योजना छुट्टाइएका छन् । तर मन्त्री मण्डलले भने बाटो निर्माण, क्लबको गेट निर्माण, बजार सौन्दर्यीकरण, थान निर्माण, घाट निर्माण जस्ता १३० वटा बढी टुक्रे योजनामा बजेट विनियोजन गरेको पाइएको छ ।
मन्दिर निर्माण, थान निर्माण, कब्रस्थान निर्माण, सामुदायिक भवन, छटघाट, धर्मशाला, मन्दिर घेराबेरा, सडक सौन्दर्यीकरण, क्लब भवन लगायतका शीर्षकमा बजेट ५ लाखदेखि २० सम्म छुटाएका छन् । यस्ता टुक्रे योजना मन्त्री मण्डलकै निर्वाचन क्षेत्रमा राखिएका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रभित्र रहेको कोशी गाउँपालिकाका सबै वडामा पर्यटन विकास आयोजनामार्फत योजना बाँडेका छन् ।
उनले पर्यटन क्षेत्रको मात्रै नभई वन तर्फको बजेट पनि आफ्नै निर्वाचन क्षेत्रमा खन्याएको पाइएको छ । वन संरक्षण तथा सम्वद्र्धनका लागि छुट्याउनु पर्ने बजेट मन्त्री मण्डलले उपभोक्ता समितिमार्फत काम गर्ने उद्देश्यका साथ पार्क निर्माणमा बजेट हालेका छन् । कोशी प्रदेशकै पर्यटकीय जिल्ला इलामका सांसद गोविन्द गिरीले इलामको पर्यटन प्रवर्द्धनमा न्यून बजेट विनियोजन भएको बताए ।
काँग्रेस सांसद गिरीले इलामलाई पर्यटकीय जिल्ला भने पनि बजेट न्यून भएको गुनासो गरेका हुन् । ‘पर्यटनको जिल्ला इलाम भनेर तपाईँले भन्नै पर्छ, बजेट चैँ सुनसरीको खास खास ठाउँमा गएको देखिन्छ, मैले दुखका साथ भनेको छु’ गिरीले भने, ‘झापा, खोटाङ, इलामको पश्चिमको एउटा क्षेत्रमा बढी महत्त्व दिइएको छ, यसलाई सुधार गरिदिनु पर्छ, मैले इलाम जिल्लावासीको प्रतिनिधिको नाताले भनेको छु, नागरिकले सुनुन् भनेर भनेको छु ।’
काँग्रेस संसदीय दलभित्रै विरोध
आफ्नै पार्टीका मन्त्रीले आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा बजेट केन्द्रित गरेको भन्दै नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलको बैठकमै दलका सांसदहरूले विरोध जनाएका थिए । काँग्रेस सांसदहरूले भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई र पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल लगायतले बजेटको ठुलो हिस्सा आफ्नो क्षेत्रमा मात्रै केन्द्रित गरेको आरोप लगाउँदै मन्त्रीहरूको चर्को विरोध गरेका छन् ।
आइतबार संसदीय दलको बैठकमा उपनेता हिमाल कार्की, सांसद अमृत अर्याल लगायतले मुख्यमन्त्री र भौतिक पूर्वाधार मन्त्रीले सबैभन्दा बढी बेइमानी गरेको भन्दै आपत्ति जनाएको काँग्रेसकै एक सांसदले बताए । ती सांसदले दलको बैठकमा धेरै सांसदले मन्त्रीहरूको कार्यशैलीप्रति चर्को असन्तुष्टि पोखेको बताए ।





About Us
प्रतिक्रिया